काठमाडौं । विगतका वर्षहरुको जस्तो कारको बिक्री यस वर्षको दशैंमा भएन । तर, पनि विभिन्न ब्राण्डले करिब ३ हजार यूनिट कार दशैंको अवधिमा बिक्री गरे ।
नयाँ आर्थिक वर्ष लागेसँगै निकै सुस्त देखिएको अटोमोवाइल बजारमा चाडपर्वको रौनक नआएको भने होइन । यस बीचमा गाडी बिक्रेताहरुको संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गरेर मानिसलाई नयाँ गाडी किन्न प्रेरित पनि गरेका थिए ।
नाडामा झण्डै ४ हजार यूनिट गाडी बुकिङ भएको तथ्यांक समापन समारोहमा नाडाका अध्यक्ष ध्रुव थापाले सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको तथ्यांक र दशैंमा बिक्री भएको गाडीको संख्या लगभग मिलेको देखिन्छ ।
दशैं अगाडि कम्पनीहरुले ग्राहकलाई हस्तान्त्रण गरेका गाडी यातायात कार्यालयमा अझै पनि किन्नेको नाममा दर्ता भइनसकेको कारण ठ्याक्कै एकिन तथ्यांक नआएपनि लगभग ३ हजार यूनिट गाडी बिक्री भएको ब्यवसायीहरु बताउँछन् ।
यस्तोमा कुन ब्राण्डले कुन मोडल धेरै बिक्री गरे होलान् भन्ने चासो धेरैमा हुनु स्वाभाविक हो । त्यसमा पनि ईभीको बिक्री निकै बढेको समयमा कसले कुन मोडल राम्रो संख्यामा बिक्री गर्यो भन्ने विषयमा चासो राख्नु स्वभाविक हो ।

यस वर्षको दशैंमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने मध्येको एक ब्राण्ड हो टाटा । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो र नेक्सन ईभी सबैभन्दा धेरै बिक्री गरेको थियो ।
त्यसैगरी नेपाली बजारको अर्को ठूलो मध्येको एक ब्राण्ड हुन्डाईले दशैंमा ईभीभन्दा पनि पेट्रोलियम पदार्थबाट चल्ने कारहरु नै धेरै बिक्री गर्न सफल भयो । हुन्डाईले क्रेटा एसयूभी, ग्राण्ड आई १० नियोस ह्याचव्याक र भेन्यू सब फोर मिटर एसयूभी राम्रै संख्यामा बिक्री गर्न सफल भयो ।

इलेक्ट्रीक गाडी बिक्री गरेर नाम बनाएको एमजीले पनि दशैंमा सबैभन्दा धेरै जेडएस ईभी बिक्री गर्न सफल भयो । साथै, कम्पनीले ल्याएको सहर केन्द्रित इलेक्ट्रीक कार कोमेटको बिक्री पनि निकै राम्रो भयो ।
पछिल्ला दुई वर्षदेखि निकै चर्चामा रहेको बीवाइडीका कारहरु यो दशैंमा ग्राहकले सबैभन्दा धेरै खोजेका थिए । विशेषगरी बीवाइडी अटो ३ दशैंमा पाउन ग्राहकहरुले तँछाड मछाड नै गरेभन्दा हुन्छ । कम्पनीले डल्फीन ह्याचव्याक ल्याएको र बुकिङ धेरै भएको पनि ठूलो परिमाणमा डेलिभरी भने हुन सकेन ।

एउटा पनि ईभी नभएको सुजुकीले जिम्नी र ब्रेजा सबैभन्दा धेरै बिक्री गर्न सफल भयो । यी दुई मोडलको अलावा ग्राण्ड भिटारा र फ्रङ्क्स सब फोर मिटर एसयूभी पनि सुजुकीले राम्रै संख्यामा बिक्री गरेको देखिन्छ ।

सिट्रोनले सी३ इलेक्ट्रीक, महिन्द्रा स्कर्पियो क्लसिक र स्कर्पियो एन, निसानले म्याग्नाइट सब फोर मिटर एसयूभी र ग्रेटवालले ओरा ०३ इलेक्ट्रीक एसयूभी राम्रै संख्यामा बिक्री गरेका छन् ।

