काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले आफ्ना दुई नयाँ मोडल सिवी हाइनेस र सिबी ३५० आरएसको मूल्य वृद्धि गरेको छ । सरकारले २५० सीसी माथिका मोटरसाइकलमा २० प्रतिशत अन्तःशुल्क वृद्धि गरेपनि कम्पनी यी दुई मोटरसाइकलको मूल्य २५ हजारसम्मले मात्रै वृद्धि गरेको हो ।
कम्पनीले यसअघि ७ लाख ५० हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको सिवी हाइनेस ३५० को मूल्य ७ लाख ७५ हजार ९०० बनाएको छ ।
केही दिनअघि मात्रै नेपालमा विक्री सुरु भएको सिबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार ९०० रुपैयाँ थियो । बढेको मूल्य अनुसार यसलाई किन्न चाहने ग्राहकले अब ७ लाख ९८ हजार ९०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । यो मोडलमा २३ हजार मूल्य बढेको हो ।
यी दुबै मोटरसाइकलमा यसअघि ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा प्रतिस्थापन विधेयकले ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । एकै पटक २० प्रतिशत अन्तःशुल्क वृद्धि भएपनि कम्पनीले यसको मूल्य कम मात्रै बढाएको हो ।


