काठमाडौं । जापानीज ब्राण्ड होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । हङकङमा बिक्री हुँदै आएको होन्डा ‘इ:एन-१’ एसयूभी नेपाल आउने भएको हो ।
सन् २०२५ को सुरुवातसँगै होन्डा इ:एन-१ एसयूभी नेपाल आउने छ । स्याकार ट्रेडिङले आधिकारीक रुपमा बिक्री गर्दै आएको होन्डाका कारहरुको लाइअपमा पहिलो इलेक्ट्रीक मोडल आउन लागेको हो ।
‘अर्को महिना जनवरीको मध्यसम्ममा नेपाल आउने छ । चीनपछि होन्डा इ:एन-१ बिक्री हुने सम्भवत दोस्रो देश बन्नेछ’, स्याकार ट्रेडिङ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
होन्डा प्रिमियम र टिकाउ गाडी बनाउन परिचित ब्राण्ड हो । जापानीज कार लिगेसीलाई होन्डाले विद्युतीय एसयूभीमा पनि भरपुर प्रयोग गरेको देखिन्छ । विश्व बजारमा होन्डाका कारहरु मूल्यमा केही बढी हुने भएपनि सुरक्षा, लग्जरी र टिकाउपनमा अब्बल मानिन्छन् ।
होन्डाले इ:एन-१ मोडलमा ६८.८ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४१२ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा दिइएको ११ किलोवाटको चार्जरले यसलाई ६ घन्टा ३० मिनेटमा ५ प्रतिशतबाट १०० प्रतिशत चार्ज गर्ने कम्पनीको दावी छ । यसलाई डिसी चार्जरको सहयोगले ८० प्रतिशतसम्म चार्ज गर्न ४० मिनेट लाग्नेछ ।

होन्डा सेन्सीङ फिचर उपलब्ध इलेक्ट्रीक एसयूभीमा लेन किपिङ एसिस्ट, रोड डिपार्चर मोनिटररिङ सिस्टम, एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् । एडास फिचर सहितको एसयूभीमा दुई दर्जन सुरक्षा फिचर पाउन सकिन्छ । होन्डाले अगाडिको ह्वीलमा भ्यान्टीलेटेड डिस्क र पछाडि सोलिड डिस्क ब्रेक दिएको छ ।
इ:एन-१ एसयूभीमा १५० किलोवाट क्षमताको फ्रन्ट ह्वीलमा मोटर पाउन सकिन्छ । यसको पीकटर्क ३१० एनएम भएको कारण नेपालको जस्तो सुकै बाटोमा यसले उत्कृष्ट पर्फर्मेन्स दिन सक्नेछ ।
निकै सार्प र आक्रमक देखिने फ्रन्ट लुक्स यसको बलियो पक्ष हो । एलइडी फगल्याम्प, एलइडी डे टाइम रनिङ लाइट र एलइडी हेडल्याम्पको कम्बीनेस राम्रो देखिएको छ । फ्रन्ट ग्रिलको बीचमा दिइएको होन्डाको लोगो र त्यसको ठ्याक्कै तल दिइएको एयरड्यामले गाडीको लुक्समा निखारता ल्याएको छ ।
मल्टी स्पोक आल्मुनियम अलोय ह्वील उपलब्ध एसयूभीको लम्बाइ ४३८५ एमएम, चौडाइ १७९० एमएम र उचाइ १५९० एमएम रहेको छ । जुन चल्तीको सेग्मेन्टमा पर्छ ।

