काठमाडौं । आगामी ‘नाडा अटो शो २०२२’मा विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल बजारमा ल्याउने योजना बनाएका छन् । यदि सरकारले गाडी आयात खोल्ने हो भने अटो शोमा करिब एक दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक हुने पक्का छ ।
जसमा टाटा, सिट्रोन, बीवाइडी, मारुती सुजुकी, हुन्डाई, एमजी, चेरी, महिन्द्रा जस्ता ब्राण्डले नयाँ मोडल बजारमा ल्याउने छन् । त्यसमध्ये पनि चर्चामा रहेका चार एसयूभी मुख्य आकर्षण बन्न सक्ने देखिन्छ ।
नाडा अटो शो २०२२ विशेषत विद्युतीय गाडी र मोटरसाइकलको लागि फलदायी हुने अपेक्षा गरिएको छ । बढ्दो इन्धनको मूल्य र नेपाली बिजुलीको उपलब्धताले धेरै मानिस विद्युतीय सवारीको लागि तयार भएको देखिन्छ ।
नाडा अटो शोको मुख्य अकर्षण बन्ने गाडीलाई हामीले मूल्य, फिचर, डिजाइन र पर्फमेन्सको आधारमा छनोट गरेका छौं ।
टाटा पन्च

टाटा पन्च मूल्यको कारण अटो शोमा सर्वाधिक चासोको गाडी बन्ने अनुमान गर्न सकिन्छ । माइक्रो एसयूभी सेग्मेन्टमा आएको पन्च भारतमा निकै सफलता पाइरहेको मोडल हो । त्यसैले पनि यसप्रति ग्राहकको चासो हुनु स्वभाविक मानिन्छ । कम्पनीले करिब २९ लाखदेखि ४० लाख रुपैयाँसम्म मूल्य तोकेर पन्चको विक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।
टाटा पन्चमा १.२ लिटर क्षमताको इन्जिन उपलब्ध छ भने आधुनिक फिचरसँगै ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल भएको छ । सुरक्षाको हिसावले पनि भारतमा यो धेरै विक्री हुने गरेको छ ।
सिट्रोन सि थ्री

फ्रेन्च कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो सब फोर मिटर एसयूभी सि थ्री पनि मूल्यको हिसावले टाटा पन्चसँगै प्रतिस्पर्धा गर्नेगरी बजारमा आउन लागेको हो । निकै सुन्दर कारहरु उत्पादन गर्दै आएको सिट्रोनको नयाँ सि थ्रीको मूल्य ३० लाखदेखि ४० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।
साँग्रिला मोटर्सले नाडा अटो शो २०२२ मार्फत यसलाई नेपाली बजारमा विक्री सुरु गर्ने योजना बनाएको छ । यो कारमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.२ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिनको साथ बजारमा आउने छ ।
बीवाइडी एटो थ्री

चिनियाँ ब्राण्ड बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले यही जुलाई महिनामा एटो थ्रीको विक्री सुरु गर्ने तयारी गरिरहेको छ । कम्पनीको एटो थ्री इलेक्ट्रीक एसयूभी हो । बजारम उपलब्ध कम्प्याक्ट एसयूभीको तुलनामा अली ठूलो साइजमा उपलब्ध एटो थ्री ८५ देखि ९० लाख रुपैयाँ भित्र मूल्य कायम भएर नेपालमा विक्री सुरु हुँदैछ ।
एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री पाउन सकिन्छ । एक पटकको फुल चार्जमा सहजै ४२० किलोमिटर गुडाउन सकिने यो एसयूभी प्रिमियम फिचरको साथ उपलब्ध हुनेछ ।
एक्सयूभी ७००

अहिले भारतमा उत्पादन भएका एसयूभी मध्ये सबैभन्दा धेरै वेटिङ पिरियड भएको एक्सयूभी ७०० नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी अग्नी इनकर्पोरेट प्रालिले गरिरहेको छ । भारतमा यसको ब्यापक क्रेज रहेको छ । भारतपछि महिन्द्राले नेपाल र साउथ अफ्रिकामा एक्सयूभी ७०० विक्री सुरु गर्न लागेको हो ।
कम्पनी स्रोतका अनुसार एक्सयूभी ७०० भारतमा सन् २०२४ को अप्रिलसम्मको लागि सोल्ड आउट रहेको छ । यस्तोमा नेपाली बजारमा पनि धेरै एसयूभी प्रेमीलाई यसले आकर्षित गर्न सक्ने देखिन्छ ।


