२५ हजार करोड भारतीय रुपैयाँको सेयर जारी गर्दै हुन्डाई मोटर इन्डिया

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले झण्डै २५ हजार करोड भारतीय रुपैयाँ (४० हजार करोड नेपाली रुपैयाँ) बराबरको सेयर बिक्री गर्ने भएको छ ।

त्यसको लागि हुन्डाई मोटर्स इन्डियाले आफ्नो १७.५ प्रतिशत अर्थात् १४ करोड २० लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न लागेको छ । कम्पनीले गत शनिबार उक्तसंख्या बराबरको सेयर बिक्री गर्न बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा निवेदन दर्ता गराएको हो ।

आगामी सेप्टेम्बर-अक्टोबरमा कम्पनीले आइपीओ जारी गर्नेछ । हुन्डाईकोे प्यारेन्ट कम्पनी हुन्डाई मोटर कम्पनी दक्षिण कोरियाको नाममा रहेको सेयर हिस्सा सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो । अहिलेसम्म हुन्डाई मोटर इन्डियामा पूरै सेयर कोरियन कम्पनीसँगै रहेको छ ।

कम्पनीले उक्त सेयरको फेस भ्यालु प्रतिकित्ता १० रुपैयाँ रहेको छ । यो आइपीओमा ५० प्रतिशत सेयर संस्थागत लगानीकर्ताले, ३५ प्रतिशत जनरल पब्लिक र १५ प्रतिशत ठूला लगानीकर्ताका लागि छुट्याएको छ ।

एलआइसीपछि भारतको सबैभन्दा ठूलो आइपीओ हुने विश्वास लिइएको छ । यसको म्यानेजरमा कोटक महिन्द्रा क्यापिटल कम्पनी, सिटी ग्रुप ग्लोबल मार्केट इन्डिया, एसएसबीसी सेक्युरिटीज, जेपी मोर्गन इन्डिया र मार्गन स्यान्टले इन्डिया जस्ता कम्पनीहरू रहेका छन् ।

हुन्डाईले सुरूआतदेखि सन् २०२३ को डिसेम्बरसम्म भारतको व्यवसायमा ५.०४ अर्ब डलर लगानी गरेको छ । हुन्डाई अहिले इन्डियाको दोस्रो ठूलो कार उत्पादक कम्पनी हो । कम्पनी विगत २ दशकदेखि नाफामा रहेको छ ।

सन् २०२३ मा हुन्डाई मोटर इन्डियाले ६० हजार ३०७ करोडको व्यापार गरेको थियो । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ५७.९६ रुपैयाँ रहेको छ ।


Back_to_top