कडा प्रतिस्पर्धा गर्दै हुन्डाई र टाटा, पच्छाउँदै महिन्द्रा

काठमाडौं । भारतीय बजारमा हुन्डाई र टाटाको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । कोरियन निर्माता धेरै वर्षदेखि दोस्रो स्थानमा बलियो पकड बनाएर बसेको थियो । तर, पछिल्लो दुई वर्षदेखि टाटाले कडा टक्कर दिइरहेको छ ।

सन् २०२४ को पहिलो महिनाको भारतमा कार बिक्रीको तथ्यांक सार्वजनिक हुन थालेको छ । यस्तोमा हुन्डाई, टाटा र महिन्द्राको बिक्री तथ्यांक निकै रोचक देखिन्छ ।

जनवरीमा हुन्डाईले भारतीय बजारमा ५७ हजार ११५ यूनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनीको अनुसार भारतबाट जनवरीमा १० हजार ५०० यूनिट निर्यात भएको छ । दुबैलाई मिलाउँदा कम्पनीले कुल ६७ हजार ६१५ यूनिट होलसेल बिक्री गरेको हो ।

टाटा मोटर्सले भारतीय बजारमा ५३ हजार ६३३ यूनिट कार होलसेल बिक्री गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा भने ४०० यूनिट निर्यात भएको जनाएको छ । टाटाको अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा ठूलो हिस्सा नेपालमा रहेको छ ।

भारतीय बजारमा दुबै ब्राण्ड बीचको प्रतिस्पर्धा कडा देखिएपनि अन्तर्राष्ट्रिय ब्यापारमा हुन्डाई अगाडि रहेको छ । हुन्डाई र टाटा पछाडि रहेको महिन्द्राले पनि ४३ हजार ६८ यूनिट प्यासेन्जर कार भारतमा बिक्री गर्दै आफुलाई बलियो बनाएको छ ।

भारतमा सर्वाधिक गाडी बिक्री गर्दै आएको मारुती सुजुकीको बिक्री तथ्यांक भने सार्वजनिक भएको छैन ।


Back_to_top