काठमडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई विश्वकै ठूलो अटो बजार चीनमा इन्ट्री गरेको छ । कम्पनीले आफ्नो विद्युतीय ब्राण्ड ‘आयोनिक’ मार्फत चिनियाँ बजारमा प्रवेश गरेको आधिकारिक घोषणा गरेको हो ।
कम्पनीले चीनका लागि ‘आयोनिक युनिभर्स’ नामक विशेष विद्युतीय इकोसिस्टम स्थापना गरेको छ । जसमा दुईवटा नयाँ एनईभी कन्सेप्ट कार ‘भेनस कन्सेप्ट’ र ‘अर्थ कन्सेप्ट’को विश्वव्यापी सार्वजनिक गरेको छ ।
‘आयोनिक युनिभर्स’ अवधारणामा चिनियाँ उपभोक्ताहरूलाई ‘केन्द्रकाे सूर्य’को रूपमा हेरिएको छ । भविष्यका सबै आयोनिक मोडल र सेवाहरू उनीहरूको वरिपरि ग्रहहरू जस्तै घुम्नेछन् । यही दर्शनका आधारमा चीनमा सबै आयोनिक उत्पादनहरूको नाम सूर्यको परिक्रमा गर्ने ग्रहहरूको नाममा राखिनेछ।
भेनस कन्सेप्ट र अर्थ कन्सेप्ट यो युनिभर्सका पहिलो दुई ग्रह हुन्, जसले हुन्डाईको नयाँ चीन रणनीतिको सुरुवातलाई दर्शाउँछन्। भेनस कन्सेप्टमा सुनौलो बाहिरी भाग र सिंगल कर्भ प्रोफाइल रहेको छ। यसमा हल्का तौलको फ्रेम स्टाइल रुफ, पारदर्शी स्पोइलर र रेसिङ स्टाइलको ह्वीलहरू छन्। यसको विशेष भी आकारको लाइटिङ र गोल्डेन रेकर्ड डिजाइनबाट प्रेरित ब्रेक डिस्कले यसलाई आधुनिक रूप दिएको छ। यसको भित्री भागमा क्रिस्टल लाइटिङ र आरामदायी भेनस कर्भ सिटहरू रहेका छन्।

अर्थ कन्सेप्ट पृथ्वीको जीवन्तताबाट प्रेरित छ । यसको बडीमा अरोरा शिल्ड रङ र चट्टानको बनावट जस्तो देखिने रेखाहरू छन्। यसमा इन्टिग्रेटेड रुफ रेल र हिडन दुईतर्फ खुल्ने ढोकाहरू छन्। यसको भित्री भाग लिटिल अर्थ अवधारणामा आधारित छ । जसले शान्त र सुरक्षित वातावरण प्रदान गर्दछ। यसमा प्रयोग गरिएको एयर हग सिटले सबै उमेरका यात्रुहरूलाई आराम दिन्छ।
आयोनिकले आगामी बेइजिङ अटो शो २०२६ मा चिनियाँ बजारका लागि विशेष रूपमा डिजाइन गरिएको आफ्नो पहिलो मास प्रोडक्सन भेहिकल सार्वजनिक गर्नेछ । आगामी ३ वर्षभित्र ब्राण्डले एसयूभी र कुप्पे दुवै स्वरूपमा मिड टु लार्ज सेग्मेन्टका बीईभी र ईआरईभी बजारमा ल्याउने योजना बनाएको छ ।

हुन्डाईले सन् २०१६ मा आफ्नो पहिलो पुस्ताको वातावरणमैत्री प्लेटफर्म र पहिलो आयोनिक मोडल सार्वजनिक गरेको थियो । हुन्डाई मोटर ग्रुपको ई जीएमपी प्योर इलेक्ट्रीक प्लेटफर्ममा निर्मित यस लाइनअपमा आयोनिक ५, आयोनिक ६ र आयोनिक ९ जस्ता मोडलहरू छन् । आयोनिक सिरिजले हालसम्म साढे ५ लाख युनिट बढी बिक्री गरिसकेको छ ।
हुन्डाईले आयोनिकका लागि स्थानीय चिनियाँ प्रतिभा र प्रविधिको प्रयोग गरिरहेको छ । अटोनोमस ड्राइभिङका लागि हुन्डाईले चिनियाँ कम्पनी मोमेन्टासँग साझेदारी गरेको छ । जसले चीनको जटिल सडक अवस्था अनुसारको एआई समाधान विकास गर्नेछ ।

