आइकार भी-२३ चलाएर पोखरा पुग्दा…

पोखरा । काठमाडौंबाट पोखरासम्मको यात्रा २०० किलोमिटरको थियो । तर, मैले २२० किलोमिटर आइकार भी-२३ चलाएपछि मात्रै पोखरा पुगेको थिएँ ।

काठमाडौंको उत्तर ढोकाबाट हिँड्दा गाडीमा चार्ज थियो ९९ प्रतिशत । मसहित चार जना यात्रु थियौं । सबै यात्रुको मिलाउँदा औषत तौल थियो ८५ केजी हाराहारी, त्यो भनेको ३४० केजी । लगेजमा थिए, दुई साना सुटकेस, एउटा ठूलो क्यामेरा ब्याग र दुई ह्याण्डब्याग । समग्रमा गाडीमा ३८० केजी हाराहारी तौल थियो ।

पोखरा जान अहिले धेरै बाटो प्रयोग गर्न सकिन्छ । नियमित नागढुङ्गा वा नयाँ खुलेको सीतापाइला धार्के सडकको सट्टा मैले टोखा-छहरे-गल्छीको बाटो रोजेँ । काठमाडौंमा पानी परिरहेको थियो । बिहान ८ बजे आसपासमा हामीले उपत्यका छोड्यौं ।

बाटोमा गाडीको भिडियो खिच्ने योजना अनुसार हामी हिँडेका थियौं । शिवपुरी राष्ट्रिय निकुन्ज हुँदै अगाडि बढ्दा मैले सबैभन्दा पहिला याद गरेको कुरा यसको रिजेन थियो । गुर्जे भन्ज्याङदेखि छहरे पुग्दासम्म गाडीले ५ प्रतिशत रिजेन गर्यो । करिब १२ किलोमिटरको यात्रामा गाडीले गरेको रिजेन उत्कृष्ट थियो ।

गाडी सुटिङमा थियो । घुमाउने, सुटिङ गर्ने र गल्छीको बाटो लिएको कारण अतिरिक्त २० किलोमिटर हामीले चलाएका थियौं । त्यसैले हो, २०० किलोमिटरमा रहेको पोखरा पुग्न २२० किलोमिटर लाग्यो । मैले टेस्ट गर्न लगेकै कारण रेन्ज कति दिन्छ भन्ने कुरामा ध्यान दिएको थिइनँ । मेरो ध्यान गाडीको पर्फमेन्स, कम्फर्ट र ह्याण्डलिङमा थियो ।

मसँग यात्रामा रहेका दुई जना गाडी चलाउन सक्षम थिए । अझ भनौं लामो समयदेखि आफ्नो पेसा नै अटोमोबाइल क्षेत्रमा बनाएका थिए । जसमा एसपीजी अटोमोबाइलका जनरल मेनेजर ज्ञानेन्द्र चन्द र डिलर हेड आशिष दाहाल थिए । उनीहरूलाई पनि बाटोको केही एरिया मैले चलाउन लगाएको थिए ।

उनीहरूले चलाउँदा म गाडीको पछाडि सिटमा गएर बसेको थिएँ । त्यतिबेला पनि पछाडि बस्ने प्यासेन्जरको हिसाबले गाडी कत्तिको राम्रो छ भन्ने कुरा सोच्दै थिएँ ।

यात्रु बनेर हेर्दा

सबैभन्दा पहिला यात्रु बनेर यात्रा गर्दाको अनुभव सेयर यहाँ चर्चा गर्दैछु । पछाडिको सिट ३ जनाको लागि हो । तर, यसमा बीचमा बस्ने यात्रुको लागि हेडरेस्ट छैन । बरु हेड रेष्ट हुनुपर्ने स्थान थप होचो बनाइएको छ । तर, माथि छतबाट तानेर ल्याउन मिल्ने सिट बेल्ट भने छ । यसको मतलब पछाडिका तीन जनानै यात्रुको सुरक्षामा सम्झौता गरिएको छैन ।

पछाडि एसीको डेडिकेटेड भेन्ट छैन । यसको मतलब पछाडि बस्नेले एसीको चिसो पाउँदैनन् भन्ने लाग्न सक्छ । तर, सजिलै क्याबिन चिसो हुन्छ । चितवनदेखि पोखराको गर्मीलाई छिचोल्न सक्ने क्षमताको एसी छ । पछाडि हावाको फ्लो राम्रैसँग हुन्छ ।

लेगरुम र हेडरुमको कुनै चिन्ता छैन । फ्लोरमा कुनै जनावर नै राखेर हिँड्न परे पनि पुग्नेखालको स्पेश पाउन सकिन्छ । अफरोड यात्रामा हातहरू अड्याउन ह्याण्डलहरू प्रशस्त दिइएको छ । महत्वपूर्ण कुरा सिट निकै आरामदायी छ । गाडीको सस्पेन्सन स्मुद छ । खाल्डाखुल्डीमा पर्दा पनि यात्रुलाई कठिनाइ हुँदैन ।

ड्राइभिङ अनुभव

हाम्रा हाइवेको हालत त तपाईंहरू सबैलाई थाहा नै छ । गल्छीदेखि मुग्लिनसम्मको बाटो हाइवे भन्न लायक छैन । धन्न जाममा परिएन, खाल्टाखुल्डी, हिलो, पानी जमेको र पहिरो झरेको ठाँउहरू थुप्रै थिए । त्यसमा पनि यसलाई सहजै चलाउन ग्राउण्ड क्लियरेन्सले निकै ठूलो साथ दियो ।

गाडीमा दिइएको २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स उत्कृष्ट छ । पुरा गोलाकारको स्टेरिङ, स्टेरिङमै दिइएको भोइस कमाण्ड बटम, स्टेरिङको पछाडि दिइएको गियर नब निकै ह्याण्डी छ । ब्रेकिङ उत्कृष्ट छ । १९ इन्चको पृथक अलोय ह्वीलले गाडीको रफ्रोड यात्रामा सजिलै साथ दिने देखियो ।

गाडीको साइज र वेट अनुसार रिसर्च एण्ड डेभलपमेन्ट गरिएको १०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर, स्मुद एक्सेलेरेसन र अफरोड थीममा तयार भएको ड्यासबोर्डको कम्बिनेसन उत्कृष्ट छ । १५.४ इन्चको फ्लोटिङ स्क्रीन पनि अनौठो लाग्छ । यसमा छुटै इन्स्ट्रुमेन्ट क्लस्टर छैन । त्यही १५.४ इन्चको स्क्रीनमा ३ भागको एक भागमा सूचना आउँछ ।

उच्च गतिमा पनि गाडी कन्ट्रोल गर्न निकै सहज छ । एडास र सेन्सरको प्रयोगले चालकलाई सहजता प्रदान गर्छ । यति भनेपछि अफरोड एसयूभी खोज्नेले बुझ्नु हुन्छ होला, ‘यो गाडी बाहिरबाट अफरोड, भित्रबाट लग्जरी एसयूभी हो ।’

पर्फमेन्सको आधारमा यसले अफरोडमा उत्कृष्ट नतिजा दिने अनुमान गर्न सकिन्छ । जहाँ स्लिपी मोडको प्रयोग गरेर यसलाई चलाउन सकिन्छ । ड्राइभिङ मोड इको, कम्फर्ट, स्पोर्टस् र स्लिपी पाउन सकिन्छ । मैले सबैभन्दा धेरै यसलाई कम्फर्ट मोडमा चलाएको थिएँ ।

रेन्ज

धेरैको मनमा यसले कति किलोमिटर रेन्ज दिन्छ होला भन्ने कुरा आयो होला । यसको रेन्ज ठिकठाक छ । ६० किलोवाट आवरको सीएटीएलले बनाएको ब्याट्री प्रयोग गरिएको छ । औषतमा १५ किलोवाट आवरको दरले रेन्ज दिने हो भने ४०० किलोमिटर रेन्ज आउनु पर्ने हो ।

सीएलटीसीले पनि ४०१ किलोमिटर रेन्ज प्रमाणित गरेको छ । तर, मैले २२० किलोमिटर चलाउँदा ६९ प्रतिशत चार्ज खर्च भयो । यसको मतलब १०० प्रतिशत चार्ज खर्च गरेको भए ३१९ किलोमिटर चल्थ्यो भन्ने हो ।

निष्कर्ष

रेट्रो डिजाइनमा तयार भएको एसयूभी साँच्चै खराब बाटाका लागि उपयोगी छ । बाहिरबाट हेर्दा जति लाइफ स्टाइल एसयूभीको झल्को दिन्छ, भित्रबाट नेक्सट लेभल लग्जरी छ । त्यसैले यसलाई अफरोडर र लग्जरीको हाइब्रिड भन्न सकिन्छ ।

आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले यसको टप भेरियन्ट नै ४७ लाख रुपैयाँभन्दा कममा बिक्री गर्ने जनाएको छ । मूल्यको आधारमा झनै आकर्षक लाग्ने एसयूभी बजारमा छुट्टै पहिचान बनाउन सक्षम हुने सहजै अनुमान लगाउन सकिन्छ ।

कम्पनीका अनुसार नोभेम्बर महिनाबाट मात्रै यसको बिक्री सुरू हुनेछ । केही ढिला गरी बजारमा आउन लागेको कारण चाडपर्व लक्षित ग्राहक भने यसलाई पाउन सक्ने देखिँदैन ।


Back_to_top