पृथक डिजाइनले ग्राहक तान्दै ‘भी-२३’, ग्राहकलाई दिनै हम्मे

काठमाडौं । कुनै पनि पृथक डिजाइनको कारले बजारमा फरक किसिमको ‘बज’ पैदा गर्दै आएको हामीले देखेका छौं । पछिल्लो समय आइकार भी-२३ त्यस्तै मोडल बन्न पुगेको छ ।

बक्सी डिजाइन, अगाडि र पछाडिबाट प्योर अफरोड एसयूभीको झल्को र हेडलाइट, टेलगेट लगायतका पार्टस पनि विल्कुलै आकर्षक र रेट्रो लुक्समा भएको कारण भी-२३ को चर्चा धेरै भएको हो ।

‘ग्राहकले राम्रो प्रतिक्रिया दिँदै आउनुभएको छ । हामीले डेलिभरी सुरू गरेसँगै नयाँ बुकिङको लागि आउने बढ्दै गएको पाएका छौं । उपत्यका बाहिर डिलरहरूसँग पनि राम्रो संख्यामा बुकिङ भइरहेको छ । तत्काल डिमान्ड अनुसारको सप्लाई पुर्याउन हम्मे हम्मे परेको छ । आसा छ, क्रमिक रूपमा उपभोक्ताको माग अनुसार डेलिभरी गर्न सक्नेछौं,’ आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले मेरोअटोसँग भने ।

अनौठो साइबर-टेक स्टाइल मिश्रित रेट्रो लुककै कारण नेपाली उपभोक्ताले यसलाई मन पराएका हुन् । त्यसको अलावा अलगै किसिमको फ्रन्ट ग्रिल तथा रगेड एस्थेटिकले अटोमोबाइल बजारमै अलग स्वाद प्रदान गर्न सफल भएको छ ।

विश्वकै ठूलो हाइ भोल्टेज ब्याट्री निर्माता सीएटीएलले उत्पादन गरेको ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ३०० किलोमिटर माथिको रेन्ज दिन्छ । झण्डै ६० किलोवाट आवरको ब्याट्रीको रेन्ज धेरैलाई थोरै भयो जस्तो लाग्ला । एनईडीसीले ४०१ किलोमिटर भन्छ । नेपाली सडकमा जस्तोसुकै ‘रफ’ चालकले पनि ३०० किलोमिटर माथि रेन्ज पाउँछ ।

खासगरी २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स, धेरै बडी तौल जस्ता कारण पनि रेन्ज कम हो कि भन्ने धेरैलाई लाग्ला । तर, यो रेन्ज निकै उत्कृष्ट हो ।

चेरी अटोमोबाइल ग्रुपले आइकार भी-२३ मा १०० किलोवाटको मोटर दिएको छ । जसको टर्क भने १८० न्युटन मिटर मात्रै छ । विद्युतीय एसयूभी भए पनि यसको एक्सलरेसन निकै स्मुथ छ ।

गाडीको बाहिरी डिजाइन जति लोभलाग्दो छ, भित्र त्यति नै लग्जरी पाउन सकिन्छ । यात्राको लागि चार जनालाई निकै उत्कृष्ट छ । फ्लोर, सिट, ड्यासबोर्ड, स्टेरिङ, आमरेस्ट जस्ता फिचर्स निकै उपयोगी छन् ।

सुरूमा ४७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू भएको आइकार भी-२३ को मूल्य २ लाख रुपैयाँले वृद्धि भइसकेको छ । कम्पनीका अनुसार यसको मूल्य आयातको आधारमा बढेको होइन । चिनियाँ मुद्राको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।


Back_to_top