टोयोटाको विक्रीमा उछाल, यस्तो छ मारुती, हुन्डाई र महिन्द्राको विक्री

काठमाडौं । भारतमा जुलाई महिनाको कार विक्री तथ्यांक सार्वजनिक भएसँगै कम्पनीहरुको होलसेल विक्रीलाई लिएर चर्चा बढिरहेको छ । नेपालमा आयात नै रोकिएर बस्नु परेको समयमा भारतमा कार विक्रीमा उछाल आएको हो ।

जुलाई २०२२ मा टोयोटाले भारतीय बजारमा अहिलेसम्मकै धेरै १९ हजार ६९३ यूनिट कार विक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ६ हजार ५ सय यूनिटले धेरै विक्री गरेको हो । सन् २०२१ जुलाईमा १३ हजार १०५ यूनिट मात्रै टोयोटाको कार विक्री भएको थियो ।

मारुती सुजुकीले पनि एकै महिना १ लाख ७५ हजार ९१६ यूनिट कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक भारतीय बजार र निर्यात भएको दुबै जोडर हो । अघिल्लो वर्ष जुलाईमा १ लाख ६२ हजार ४६२ यूनिट कार विक्री गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा झण्डै १२ हजार यूनिटले विक्री बढाएको हो । मारुती सुजुकीको विक्रीमा एस–प्रेसो, वागेनआर, बलेनो, ब्रेजा, आर्टिगा, सेलेरियो, ब्रेजा र ईको जस्ता मोडलको सबैभन्दा धेरै भूमिका रहेको छ ।

महिन्द्राले पनि जुलाईमा आफ्नो विक्री बढाएको छ । कम्पनीले २८ हजार ५३ यूनिट प्यासेन्जर कार विक्री गर्दै अघिल्लो वर्षको जुलाईको तुलनामा ३३ प्रतिशतको वृद्धि भेट्टाएको छ । कम्पनीले पाएको विक्रीमा २७ हजार यूनिटभन्दा धेरै एसयूभी रहेको छ । महिन्द्राले निर्यात पनि निकै ठूलो संख्यामा गरको देखिन्छ । कम्पनीले २६ हजार ८८० यूनिट जुलाईमा निर्यात गरेको छ । निर्यातसहित महिन्द्राले जुलाईमा ५६ हजार १४८ यूनिट गाडी डिलरकोमा पठाएको हो ।

हुन्डाई मोटर्स इन्डियाले जुलाई महिनामा ५० हजार ५०० यूनिट गाडी विक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको जुलाईमा ४८ हजार ४२ यूनिट कार विक्री गरेको थियो । हुन्डाईको विक्रीमा क्रेटा, भेन्यू, आई १० नियोस, आई २० र अउराको भूमिका सबैभन्दा धेरै छ । हुन्डाईले निर्यात १३ हजार ३५१ यूनिट गरेको छ । भारतीय बजार र निर्यात गरेर हुन्डाईले ६३ हजार ८५१ यूनिट गाडी डिलरमा पठाएको छ ।


Back_to_top