भारत मेड उत्कृष्ट ५ प्रिमियम एसयूभी, कुन लोकप्रिय ?

स्पोर्टस युटिलिटी भेइकल (एसयूभी) प्रति उपभोक्ता रुची बढ्दै गएको छ । कम्प्याक्ट एसयूभीले पछिल्लो समय बजार लिएको छ । उद्यपी फुल एसयूभीको बजार समेत बढ्दै गइरहेको छ । 

भारतीय बजारमा निर्माण भएका र सर्वाधिक बिक्री हुने ५ प्रिमियम एसयूभीका बारेमा यहाँ चर्चा गरिएको छ । 

होन्डा सीआर–भी

५ प्रिमियम एसयूभी मध्ये होन्डा सीआर–भी भारतीय बजारमा पाँचौ स्थानमा रहेको छ । २०१९ को मार्चमा १ सय ४ युनिट सीआर–भी बिक्री भएको छ । गत वर्षको सोही अवधिमा ४१ युनिट मात्र सीआर–भी बिक्री भएको थियो । 

यो एसयूभीको भारतमा सुरुवाती मूल्य २८ लाख २५ हजार भारु रहेको छ । यो एसयूभी नेपाली बजारमा समेत उपलब्ध रहेको छ । यसको नेपाली बजारमा मूल्य १ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

स्कोडा कोडियक 

यो वर्षको मार्चमा भारतमा स्कोडाको कोडियक २ सय ५२ युनिट बिक्री भएको छ । अघिल्लो वर्षको मार्चमा १ सय ६३ युनिट मात्र बिकेको कोडियक यो वर्ष चौथो स्थानमा रहेको छ । 

भारतीय बजारमा कोडियकको सुरुवाती मूल्य ३५ लाख ३६ हजार भारु रहेको छ । स्कोडा कोडियक पनि नेपाली बजारमा केही समय अघि सार्वजनिक भएको थियो । यसको नेपाली बजारमा मूल्य १ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

महिन्द्रा अल्टुरस फोजी  

महिन्द्राले अल्टुसर फोजी प्रिमियम एसयूभी गत वर्षको नोभेम्बरमा सार्वजनिक गरेको थियो । यो वर्षको मार्चमा अल्टुरस फोजी ३ सय २१ वटा बिक्री भएको छ । २०१९ कै फेब्रुअरीमा भने ४ सय ३० वटा अल्टुरस फोजी बिक्री भएको थियो ।

अल्टुरस फोजीको सुरुवाति मूल्य २७ लाख २० हजार भारु रहेको छ । यो एसयूभी भने नेपाली बजारमा उपलब्ध छैन । 

फोर्ड इन्डेभर

फोर्डले २०१९ को फेब्रुअरीमा इन्डेभरको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको थियो । यो वर्षको मार्चमा ५ सय ७२ वटा इन्डेभर भारतमा बिक्री भएको छ । गत वर्षको सोही अवधिमा भारतमा ४ सय ९२ वटा इन्डेभर बिक्री भएको थियो ।

भारतमा इन्डेभरको सुरुवाति मूल्य २८ लाख २० हजार भारु रहेको छ । फोर्ड इन्डेभर नेपाली बजारमा समेत उपलब्ध रहेको छ । नेपाली बजारमा टाइटेनियम अटोमेटिक भेरियन्टमा उपलब्ध यसको मूल्य १ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

टोयोटा फर्चुनर 

प्रिमियम सेगमेन्टमा टोयोटा फर्चुनर सर्वाधिक बिक्री हुने एसयूभी बनेको छ । २०१९ को मार्चमा १९ सय ७६ वटा फर्चुनर बिक्री भएको थियो । गत वर्षको सोही अवधिमा १९ सय २५ वटा फर्चुनर भारतीय बजारमा बिक्री भएको थियो ।

भारतमा फर्चुनरको सुरुवाति मूल्य २७ लाख ८३ हजार भारु रहेको छ । टोयोटा फर्चुनर नेपाली बजारमा पनि उपलब्ध रहेको छ । यसको नेपाली बजारमा सुरुवाति मूल्य १ करोड ६३ लाख रुपैयाँ रहेको छ । 


Back_to_top