काठमाडौं । बजाजले अष्ट्रियन मोटरसाइकल कम्पनीको बहुमत स्वामित्व लिएको छ । भारतीय मोटरसाइकल उत्पादक जायन्ट बजाज अटोले अस्ट्रियन ब्रान्डमा आफ्नो बहुमत स्वामित्व लिएसँगै यसको नाम समेत परिर्वतन हुने भएको छ ।
पछिल्लो दशकमा भारतीय दुईपाँग्रे क्षेत्रमा ठुलो फड्को मारेको छ । केही भारतीय मोटरसाइकल निर्माता कम्पनीहरुले युरोपियन ब्रान्डको स्वामित्वनै खरिद गरेका छन् भने केही ब्रान्डले आशिंक सेयर खरिद गर्दै लगेका छन् ।
यसले के देखाउँछ भने, अबको दुईपाँग्रेको विश्व बजार भनेको भारतको अधिनमा जाँदैछ । विश्वको आधा जनसंख्या भएको एशियाली बजारमा मात्र होइन भारतीय ब्रान्डका उत्पादन विश्वको धेरै देशमा विक्री भइरहेका छन् । सबैभन्दा धेरै यूनिट दुईपाँग्रे उत्पादक कम्पनी पनि भारतीय ब्रान्ड हिरो हो ।
केही समय अघि टीभीएसले प्रिमियम ब्रिटिश ब्रान्ड नोर्टनको पुर्ण स्वामित्व भारतीय दुईपाँग्रे निर्माता टीभीएस मोटर्सले खरिद गर्यो । अहिले टीभीएसले नोर्टन ब्रान्डमा फेरि मोटरसाइकल उत्पादन सुरु गरिसकेको सकेको छ ।
महिन्द्राले चेक ओरिजिन भएका जावा र युके ओरिजिन बीएस जस्ता ब्राँन्डको स्वामित्व लिएको छ । अहिले बजाज अटोले केटीएम, हस्कभर्ना जस्ता ब्रान्ड खरिद गरेसँगै भारतले दुईपाँग्रे अटो बजार भारतको पकडमा रहेको सन्देश दिएको छ ।
भारतीय ब्रान्डले सेयर खरिद नगरेका अमेरिकी होस वा जर्मनी ब्रान्ड होस जोसुकै पनि भारतीय ब्रान्डसँग जोडिएर काम गर्दै आएका छन् । यसको मतलब के हो भने, अबको दुईपाँग्रे बजारमा अधिपत्य भारतले नै जमाउने पक्का छ । जति नै ठुलो ब्रान्ड भएपनि भारतीय कम्पनीसँग हात मिलाउनुको विकल्प नभएको देखिन्छ । चाहे त्यो हार्ले डेभिड्सन होस वा बीएमडब्लू । चाहे त्यो ट्रायम्फ नै किन नहोस, आफ्नो शाख टिकाउन यस्ता ब्रान्डलाई भारतीय कम्पनीसँग जोडिनै पर्ने बाध्यता भएको छ ।
बीएमडब्लूले भारतमा टीभीएससँग सहकार्य गरेर कम मूल्यका मोटरसाइकल उत्पादन गर्दै आएको छ भने अमेरिकी मोटरसाइकल निर्माता हार्लेले हिरो मोटोकर्पसँग सहकार्य गर्दै ४४० सीसीको मोटरसाइकल उत्पादन गरिरहेको छ ।

ट्रायम्फका ४०० सीसी क्षमताका मोटरसाइकल भने बजाजले उत्पादन गर्दै आएको छ ।
भारतीय ब्रान्डहरुले आफुलाई प्रिमियम देखाउन नसकिरहको अवस्था यस्ता ब्रान्डहरु खरिद गरेर आफुलाई प्रिमियम बनाउने कोशिष गरेको देखिन्छ । युरोपियन ब्रान्डसँग भएको टेक्नोलोजी र ब्रान्ड इमेजले भारतीय ब्रान्डलाई फाइदा पुग्नेनै देखिन्छ ।

