नेपाल आइपुग्यो जेको ‘जे-फाइभ’, यस्तो छ मूल्य

काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नयाँ एसयूभी नेपाल पठाएको छ । ओमोडा/जेकोको आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले नाइमा मोविलिटी एक्स्पोबाट बिक्री सुरु गर्ने योजनासहित जे-फाइभ नेपाल ल्याएको हो ।

निकै पावरफुल मोटरमा नेपाल आएको जेको जे-फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेको छ । कुनै पनि नयाँ गाडी नेपाल प्रबेश गर्नुअघि भन्सार प्रयोजनको लागि अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशित गर्नु पर्ने प्रावधान अनुसार यो मूल्यसूची छापिएको हो ।

करिब ५५ लाख रुपैयाँ आसपासको मूल्यमा आउने अनुमान गरिएको जे-फाइभको केही महंगो हुनुको कारण यसको मोटर पावर हो । कम्पनीले यसलाई १५५ किलोवाट पीकपावर क्षमता भएको मोटरमा ल्याएको छ । यदि, १०० किलोवाट वा त्योभन्दा कम क्षमताको मोटरमा आएको भए ५५ लाख हाराहारी मूल्यमै आउने अनुमान गर्न सकिन्छ ।

जेको जे-फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ ।

निकै स्मार्ट डिजाइनमा उपलब्ध जे-फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा दिइएको २६२० एमएम लामो ह्वीलवेस दिइएको छ ।

मिनिमल डिजाइनमा तयार भएको इन्टेरियर, ड्यासबोर्डमा केही बटम सहितको १३.२ इन्चको ठूलो पोट्र्रेट टचस्क्रिन पाउन सकिन्छ । दुई कलरमा सजिएको लेदर सिटको प्रयोगले निकै आलिसान लाग्ने क्याविन बनेको छ । १.४५ वर्ग मिटर ठूलो प्यानोरोमिक ग्लास रूफले अलग ‘फिल’ दिन्छ ।

जेकोले जे-फाइभमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिएको छ । जसको कारण खराब बाटाहरुमा पनि सहज र आरामदायी ड्राइभिङ अनुभव पाउन सकिन्छ ।

मल्टी कलर एम्बियन्ट लाइटिङ, डबल-ग्लेज्ड साउन्ड प्रुफ ग्लास, वायरलेस चार्जिङ र पावर-एड्जस्टेबल फ्रन्ट सिटहरूले नलोभ्याउने कुरै भएन । फुल साइज स्पेयर टायर पनि उपलब्ध हुने भएकाले ढुक्कसँग यात्रा गर्न सकिन्छ । सामान राख्न ४८० लिटरको बुट स्पेस दिइएको छ । जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिनछ ।

सुरक्षाको लागि एडास लेभल टु फिचर उपलब्ध जे-फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटीक इमेर्जेनसी ब्रेकिङ जस्ता फिचर छन् । इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट उपलब्ध हुनेछ ।

जे-फाइभमा सोनीले बनाएको साउन्ड सिस्टम र इन-कार माइक सुविधा पनि उपलब्ध छ । चेरीले यसलाई २० लाख किलोमिटरको परीक्षणपछि बजारमा उतारेको हो ।


Back_to_top