काठमाडौं । चेरी मोटर ग्रुपको न्यू इनर्जी भेहिकल ब्राण्ड जेकोले ढेड वर्ष अगाडि नेपाल ल्याएको ‘जे सिक्स’ एसयूभी अपग्रेड भएर आएको छ । नामको पछाडि टी थपेर अघिल्लो साताबाट बिक्री सुरू भएको ‘जे सिक्स टी’ एसयूभी निकै सार्प लुक्समा तयार भएको देख्न सकिन्छ ।
ओमोडा/जेकोको लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले यसको मूल्य ६८ लाख ९९ हजार तोकेको छ । तर, केही समयको लागि इन्टोडक्टरी प्राइस भन्दै २ लाख छुट दिएर मूल्य कायम गरेको छ । अहिले किन्नेले ६६ लाख ९९ हजारमै जे सिक्स टी पाउने छन् ।
पछिल्लो ढेड वर्षदेखि नेपाली सडकमा दौडिरहेको जे सिक्सको तुलनामा जे सिक्स टीमा भएका परिवर्तन के के हुन् भन्ने विषयमा धेरैको चासो हुनु स्वभाविक हो । त्यसैले पहिलोको तुलनामा के के पविर्तन भएर आएको छ । भन्ने कुरा हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
इन्टेरियरमा परिवर्तन
यसअघि बजारमा उपलब्ध जे सिक्सको तुलनामा ६ एमएमले यसको चौडाइ बढेको छ । पहिलेभन्दा साइज नै ठूलो भयो । यसको लम्बाइ र उचाइमा भने परिवर्तन छैन ।

ह्वीलमा परिवर्तन र ग्राउण्ड क्लियरेन्समा वृद्धि
जेकोले आफ्नो सफल एसयूभीको ह्वील डिजाइन परिवर्तन गरेको छ । कम्पनी यसअघिको तुलनामा २५ एमएम बढी ग्राउण्ड क्लियरेन्स दिएर जे सिक्स टीलाई बजारमा ल्याएको छ ।
खराब बाटोको कारण हैरानीमा पर्ने उपभोक्ताको रोजाइमा पर्नेगरी जे सिक्स टी आएको छ । यो नेपालमा उपलब्ध विद्युतीय एसयूभी मध्य सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएको मोडल पनि हो ।
बाहिरी डिजाइन नै फरक
जेको जे सिक्सको अधिकांश स्थानमा ‘आइ’ ब्राण्डिङ गरिएको थियो । अहिले कम्पनीले त्यसलाई फेरेको छ । नयाँ जे सिक्स टी निकै उत्कृष्ट ‘फिट एण्ड फिनिस’मा पाउन सकिन्छ ।
पछाडिको टेल सेक्सनमा पनि परिवर्तन भएको छ । पहिलेको ठूलो र भद्दा लाग्ने गरी पछाडि ढोकामा झुन्डाइएको ‘स्टोरेज’ पनि परिवर्तन भएको छ ।

स्टेयरिङ ह्वील पनि फेरियो
यसअघि प्रयोग भएको स्टेयरिङ ह्वील परिमार्जन भएको छ । यसअघिको अलि सानो र तुलनात्मक रूपमा अफ्ठ्यारो लाग्ने उपभोक्ताको गुनासो थियो । कम्पनीले त्यसलाई फेरेर आइकारकै जस्तो लाग्ने थ्री स्पोक स्टेयरिङ ह्वील दिएको छ ।
ब्याट्री र मोटरमा छैन परिवर्तन
कम्पनीले गाडीको धेरै कुरा परिमार्जन गरेपनि १३० किलोवाटको मोटर र ६५.६९ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । कम्पनीको दाबी अनुसार यसको रेन्ज ४३१ किलोमिटरसम्म आउने छ । जुन पहिलेभन्दा केही बढी हो ।

जेको जे सिक्स टी १३० किलोवाटको डिसी चार्जर र ६.६ किलोवाटको एसी चार्जर सपोर्ट गर्नेगरी बजारमा आएको छ ।
मासिक किस्ता ५९ हजार
एसपीजी अटोमोबाइलले ६६ लाख ९९ हजार रुपैयाँमा अहिले जे सिक्स टी बिक्री थालेको छ । बैंकहरूले ६ प्रतिशतभन्दा पनि कम ब्याजदरमा अटोकर्जा दिइरहेको समयमा जे सिक्स टी किन्दा मारिक ५९ हजार हाराहारी किस्ता तिर्दा पुग्छ ।
बैंकहरूले ७ वर्षको लागि कर्जा दिने र मूल्यको ४० प्रतिशतले हुन आउने २६ लाख ७९ हजार ६०० रुपैयाँ सुरूमै तिर्दा बाँकी रकम ८४ किस्तामा मासिक ५९ हजार हाराहारी तिर्दा पुग्छ ।

