काठमाडौं । नेपालमा जेको ब्राण्डको नयाँ मोडल ‘जे सिक्स टी’ सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आज एक कार्यक्रमका बीच ‘जे सिक्स टी’ एसयूभी बिक्री सुरू गरेको हो ।
कम्पनीले यसअघि यो एसयूभी जे सिक्स नामबाट बिक्री गर्दै आएको थियो । अहिले अपडेटसहित नयाँ नाममा ल्याएको हो ।
कम्पनीले जे सिक्स टीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले अहिले विशेष अफर अन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराउने भएको छ ।
कम्पनीले नयाँ जे सिक्स टी नयाँ डिजाइनसँगै ठूलाे साइज, अझ अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ल्याएको छ । यसअघि २०० एमएम रहेको ग्राउण्ड क्लियरेन्स बढाएर २२५ एमएम बनाएको छ ।

अगाडिको ग्रिलमा नै मुख्य परिवर्तन देखिएको नयाँ जे सिक्स टीको साइज पनि परिवर्तन भएको छ । यसको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम छ ।
जेकोले यसमा अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री दिएको छ । जसको कारण अफरोड स्थानमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।
लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे सिक्स टीमा ब्याट्री ब्याप भने पहिलेको जस्तै ६५.६९ किलोवाट आवरको छ । रियर ह्वील ड्राइभमा उपलब्ध यो एसयूभीमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

चेरीले जे सिक्स टी मोडलमा सबै लाइट एलईडी प्रयोग गरेको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील दिएको कारण नयाँ जे सिक्स थप बक्सी देखिन्छ ।
पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर दिइएको छ । साथै, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेभल–२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर पाउन सकिन्छ ।

