गति लिँदै फास्ट ट्रयाक निर्माण, यसरी हुँदैछ काम (फोटोफिचर)

निजगढ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिएको छ ।

सुरुआती वर्षहरूमा सुस्त रहेको फास्ट ट्रयाक निर्माणले पछिल्लो समय तीव्रता पाएको हो । वि.सं. २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् निर्णयबाट फास्ट ट्रयाक व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले २०७८ देखि ठेक्का लगाइ निर्माण अघि बढाएको थियो ।

७०.९७७ किमी लामो यो सडकलाई १३ प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । सोमध्ये प्रस्थान बिन्दु खोकना-डुकुछाप (प्याकेज नं. ११) बाहेक अरू १२ वटै प्याकेजमा ठेक्का व्यवस्थापन भई हाल धमाधम काम भइरहेको नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार २०८२ पुस मसान्तसम्म फास्ट ट्रयाकको समग्र भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ । पछिल्लो समय फास्ट ट्रयाक निर्माणले तीव्रता पाएको उनको भनाइ छ ।

ठेक्का लागेका खण्डमा हाल एकैपटक पुल, सुरुङ, सडक, इन्टरचेन्ज, टोल प्लाजा, स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट, इलेक्ट्रिफिकेसन डक्ट निर्माण जस्ता काम भइरहेको छ ।

फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुँदैछन् । तीमध्ये ठेक्का लागेका ८५ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको छ । लेनडाँडा क्षेत्रमा ८२ मिटर अग्लो विशेष प्रकृतिको पुल समेत सम्पन्न भएको उनले बताए । निर्माणाधीन अन्य पुलमध्ये ५४ वटाको फाउन्डेसन, ३४ वटाको सबस्ट्रक्चरको काम सकी हाल सुपरस्ट्रक्चरको काम भइरहेको छ । जग्गा विवाद रहेको खोकना खण्डका ४ पुलको ठेक्का लाग्न बाँकी रहेको छ ।

त्यस्तै, फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरूङ निर्माण भइरहेका छन् । तीमध्ये हालसम्म लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरूङ ब्रेक थ्रु भइसकेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । दुवै सुरुङमा हाल सेकेण्डरी लाइनिङ (भित्तो प्लास्टरको काम) भइरहेको छ । धेद्रेको १०५० मिटर र लेनडाँडाको १५१८ मिटर लाइनिङको काम सकिएको छ ।

फास्ट ट्रयाककै सबैभन्दा लामो ३४५५ मिटरको महादेवटार सुरूङ खन्ने काम ७० प्रतिशतभन्दा बढी सकिएको छ । महादेवटारको दायाँतर्फको २११९ मिटर र बाँयातर्फ २५०० मिटर सुरूङ खनिसकिएको छ । चालु आव भित्रै यो सुरूङ ब्रेक थ्रु गरिने लक्ष्य रहेको उनले बताए । साथै, यो सुरुङमा बाँयातर्फ ११९६ मिटर र दायाँतर्फ ५११ मिटर लाइनिङको काम सकिएको उनले बताए ।

त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरूङको बाँयाँतर्फ ३७५ र दायाँँतर्फ २८७ मिटर खनिसकिएको छ । १ हजार मिटर लामो देवीचौर र ३९० मिटर लामो सिसौटार सुरुङ खन्न सुरू गरिएको छ । दुवै सुरुङको ८ मिटर बढी खनिएको छ । ५९४ मिटर लामो मौरीभीर सुरूङको पोर्टल तयारी कार्य भइरहेको उनले जानकारी दिए ।

सडकतर्फ पुससम्म ५ किलोमिटर सर्भिस लेन कालोपत्र गरिएको छ । प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको राजदमह क्षेत्रमा सर्भिस लेन कालोपत्र गरिएको हो । त्यस्तै, प्याकेज नम्बर ३ र ५ को ११ किलोमिटर मुख्य सडकमा सबबेस र बेस राखिएसकिएको छ । उक्त स्थानमा कालोपत्रको तयारी सुरू गरिएको उनले जानकारी दिए । यो सडक पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ ।

बाराको निजगढ क्षेत्रमा एनिमल अण्डरपासको सुपरस्ट्रक्चर, टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको उनले जानकारी दिए । फास्ट ट्रयाकको बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इनटरचेञ्ज र ट्रोल प्लाजा निर्माण गरिने छ ।

फास्ट ट्रयाकको अन्य क्षेत्रमा काम भइरहे पनि प्रस्थान बिन्दु भने अझै टुंगो लागेको छैन । डीपीआर अनुसार प्रस्थान बिन्दु खोकना क्षेत्र मानिएको छ । तर, स्थानीयले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन । खोकनाबासीले प्रस्थान बिन्दु ५ किमी पर डुकुछापमा सार्न माग गरिरहेका छन् । उक्त विवादका समाधानका लागि हाल रक्षा मन्त्रालयले समन्यव गरिरहेको उनले बताए । विवाद टुंग्याउने काम भने सरकारकै रहेको उनको भनाइ छ ।

आयोजनाको अनुमानित कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । पुस मसान्तसम्म आयोजनामा समष्टिगत कुल ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । समग्र वित्तीय ४५.३३ प्रतिशत पुगेको उनले जानकारी दिए । आयोजनाको अन्तिम पटक थपिएको म्याद २०८३ चैतसम्म रहेको छ ।


Back_to_top