नयाँ वर्ष लागेपछि नेपाल आउँदै कियाको ‘ईभी ६’

काठमाडौं । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले इलेक्ट्रिक कार ईभी ६ नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८० लागेपछि उक्त गाडी नेपाल ल्याउने तयारी गरेको हो ।

कम्पनी स्रोतका अनुसार आगामी असार महिनासम्ममा ईभी ६ नेपाल भित्र्याउने तयारी भइरहेको छ । कन्टिनेन्टल ट्रेडिङले यसअघि नै ईभी ६ नेपाल भित्र्याउने तयारी गरेको भए पनि सरकारले चालु  वर्षको बजेटमार्फत कर बढाएपछि रोकिएको थियो ।

त्यत्तिबेला कम्पनीले १ करोड १६ लाख रुपैयाँ हाराहारीमा ईभी ६ नेपाल ल्याउन लागेको थियो । अब ईभी ६ नेपाल आउँदा बढेको कर थपिने भएकाले केही महँगिने छ ।

कम्पनीले लामो समयदेखि वेबसाइटमा नयाँ इलेक्ट्रीक कार ईभी ६ नेपालमा ‘चाँडै आउँदै छ’लेखेर राखेको भए पनि २०८० लागेपछि मात्र उक्त गाडी आउने भएको हो ।

हुन्डाई मोटर ग्रुपको ‘ईजीएमपी’ (इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्म) मा बनेको यो क्रसओभर उत्कृष्ट पर्फमेन्स, फ्रिडम र भविष्य उन्मुख डिजाइनको लागि प्रसिद्ध बनिसकेको छ ।

कियाले ईभी ६ लाई विशेषतः युवा लक्षित डिजाइनमा ल्याएको छ । यसमा १९ इन्चको अलोय ह्वील, १२.३ इन्चको कर्भि ड्राइभर इन्फर्मेशन डिस्प्ले र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

किया कनेक्ट (यूभीओ) फिचरको साथ उपलब्ध हुने ईभी-६ बाट कुनै अर्को साधन पनि गर्न पनि सकिन्छ । त्यसको लागि ३.६ किलोवाटको चार्जर दिइएको छ । चालकलाई सहज होस् भनेर कारमा वायरलेस फोन चार्जर, एडप्टिभ ड्राइभिङ बीम सहितकोड्यूल एलईडी हेडल्याम्प, चालक र अगाडिको प्यासेन्जरको लागि प्रिमियम रेग्जीनको सिट जस्ता फिचर दिएको छ ।

कियाले ईभी ६ मा जीटी लाइन भेरियन्टमा ७७.४ किलोवाट आवरको ब्याट्री दिएको छ । यसले एक पटकको फुलचार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

निकै पावरफुल २३९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको यो कारलाई ३५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लगाउने छ ।

कियाले ईभी ६ लाई उत्कृष्ट बनाउन अटोमेटिक डिफग सिस्टम, इलेक्ट्रीक पावर विन्डो, अटो डिमिङ रियर भ्यू मिरर, ड्यूल जोन अटोमेटिक एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिटेड सिट, हिटेड स्टेरिङ ह्वील, स्मार्ट क्रुज कन्ट्रोल, प्याडल सिफ्टर, फरक ड्राइभ मोड, टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेरिङ ह्वील जस्ता फिचर प्रदान गरेको छ ।

ईभी ६ मा सुरक्षाको लागि एबीएस, ड्राइभर एटेन्सन वार्निङ, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, हाइवे ड्राइभ एसिस्ट, इन्टेलिजेन्ट स्पीड लिमिट, टायर प्रेसर मोनिटर, मल्टी कोलुजन ब्रेक एसिस्ट जस्ता उपयोगी फिचर पाउन सकिन्छ ।


Back_to_top