भारतमा किया सेल्टोसको प्रि-बुकिङ्ग सुरु, यस्तो छ नेपाल ल्याउने योजना

काठमाडौं । किया मोटर्सले भारतमा उत्पादन गरेको एसयूभी सेल्टोसको बिक्री अगस्ट २२ बाट सुरु गर्ने भएको छ । कम्पनीले सेल्टोसको प्रि–बुकिङ्ग भने मंगलबारबाट खुलाएको छ । 

२५ हजार भारुमा किया मोटर्स इन्डियाको वेभसाइट  र कम्पनीको डिलरबाट सेल्ट्रोसको अनलाइन बुकिङ गर्न मिल्ने जनाइएको छ । किया एसपी–२ आई कन्सेप्टमा निर्माण भएको सेल्टोस किया सोलभन्दा केही ठूलो र स्पोर्टेजभन्दा केही सानो रहेको छ । 

यो गाडीमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डललगायतका विशेषता रहेका छन् । ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषताले सेल्टोस चर्चामा रहेको छ ।

विभिन्न आठ वटा भेरियन्टमा आएको सेल्टोसमा उपलब्ध १.५ लिटर पेट्रोल र डिजेलका साथै १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा पनि उपलब्ध हुने छ । बीएस–६ मापदन्ड अनुरुपको इन्जिन रहेका गाडी अटोमेटिक र म्यानुयल दुबै ट्रान्समिसनमा उपलब्ध हुनेछ ।  

यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडजस्ता विशेषता रहेका छन् ।

आउला नेपाल ?

नेपालका लागि किया मोटर्सको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले गाडी बिक्री गर्दै आएको छ । नेपाली बजारमा किया मोटर्सका उत्पादन सिधै कोरियाबाट ल्याएर बिक्री हुँदै आएकोमा अब भारतीय उत्पादन समेत आउने ट्रेडिङले जानकारी दिएको छ । 

‘सेल्टोस केही दिन अगाडि मात्रै भारतमा सार्वजनिक भएको छ तर बिक्री सुरु भएको छैन । अबको केही दिनमा कहिले नेपाल ल्याउने भन्ने विषयमा टुंगो लाग्ने छ’ कन्टिनेन्टल्स स्रोतले भन्यो । कियाले मंगलबारमात्र इलेक्ट्रीक कार निरो नेपाल ल्याएको हो । 


Back_to_top