काठमाडौं । कोरियन कार ब्राण्ड कियाले आफ्नो लगानीकर्ता दिवसको अवसर पारेर सन् २०३० सम्ममा वार्षिक ४१ लाख ३० हजार युनिट कार बिक्री पुर्याउने लक्ष्य राखेको छ । जुन कुल कार बजारको ४.५ प्रतिशत हो ।
त्यसको लागि कियाले ४९ ट्रिलियन कोरियन वनको विशाल लगानी गर्दै ईभी मोडलहरूको विकास गर्ने जनाएको छ । आगामी ४ वर्ष भित्र कियाले वार्षिक १० लाख युनिट विद्युतीय साधन बिक्री गर्ने र त्यसको लागि १४ नयाँ मोडल थप्ने घोषणा गरेको हो ।
कम्पनीले ईभीमा जस्तै हाइब्रिड मोडलहरूमा पनि महत्वाकांक्षी योजना अगाडि सारेको छ । उसले बनाएको योजना अनुसार विभिन्न १३ हाइब्रिड मोडलहरू विश्वव्यापी रूपमा आउने छन् । र, त्यसको बिक्री वार्षिक ११ लाख युनिट पुग्नेछ ।
कम्पनीले राखेको लक्ष्य भेट्टाउन वार्षिक १९ लाख ८० हजार युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री गर्नु पर्नेछ । यो सबै लक्ष्य भेट्टाउन कियाले उत्तर अमेरिकाको लागि ‘बडी अन फ्रेम’मा आधारित पीकअप विकास गरिरहेको छ । यो पीकअप पेट्रोलियम पदार्थ, हाइब्रिड र ईभी सबैमा आधारित रहनेछ ।
कियाले आफ्नो लागि सबैभन्दा ठूलो बजार अमेरिका, युरोप र नयाँ आर्थिक विकासमा गति लिएका देशहरू हुने जनाएको छ । साथै, सन् २०२७ बाट सफ्टवयर डिफाइन भेहिकल र सन् २०२९ बाट एडास टु प्लस प्लसको प्रयोग थाल्ने जनाएको छ ।

