काठमाडौं । रेनोको सफल ह्याचव्याक कार क्वीडको फेसलिफ्ट मोडल दशैंअघि नै नेपालमा बिक्री सुरु भएको हो । सन् २०१७ बाट नेपालमा बिक्री सुरु भएको क्वीड निकै सफल मोडलको रुपमा स्थापित भइसकेको छ ।
एडभान्स अटोमोवाइलले नेपालमा बिक्री गर्दै आएको क्वीडको फेसलिफ्ट मोडल दशैं सुरु हुनुभन्दा केहि दिनअघि मात्रै नेपाल आएको हो । रेगुलर क्वीडको तुलनामा कम्पनीले यसको एक्सटेरियर र इन्टेरियरमा केहि परिमार्जन गरेको छ ।
एसयूभीबाट प्रेरित भएर तयार गरिएको क्वीडमा दिइएको इन्फोटेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टरले सेग्मेन्टमा रहेका अन्य मोडललाई माथ दिदै आएको थियो । नयाँ क्लाइम्बरमा पनि यसलाई परिमार्जन सहित निरन्तरता दिइएको छ ।
कम्पनीले फेसलिफ्ट क्वीडमा नयाँ स्प्लीट हेडल्याम्प सेट दिएको छ । साथमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले यसअघि बिक्री हुँदै आएको क्वीडको तुलनामा यसलाई आकर्षक बनाएको छ । अझ क्लाइम्बर भेरियन्टमा ड्यूल कलरको विभिन्न स्थानमा प्रयोग गरिएकाले बाहिरबाट झट्ट हेर्नेले पनि क्लाइम्बरलाई सजिलै छुट्टाउन सक्ने छ ।
यसअघि १३ इन्चको ह्वील प्रयोग हुँदै आएकोमा फेसलिफ्ट मोडलमा १४ इन्चको ह्वील प्रयोग गरिएको छ । ठूलो टायरले क्वीडको आकर्षण थप बलियो बनाएको छ । पछाडि गाइड लाइट एलइडी प्रयोग गरिएको छ भने बडी स्टाइलमा खासै धेरै परिमार्जन गरिएको छैन । क्लाइम्बरमा दिइएको रुफरेलले सानो कारलाई बोल्ड लुक्स प्रदान गरेको छ ।
पुरनो क्वीडको तुलनामा नयाँ फेसलिफ्ट मोडल ५५ एमएम लामो रहेको छ भने करिब ३५ देखि ४० केजी तौल बढी रहेको छ । गाडीको बम्पर र साइड प्यानलमा थप भएका सुरक्षा फिचरको कारण तौल बढी भएको कम्पनीको भनाई छ ।
नयाँ क्वीडको क्यावीनमा प्रबेश गर्नासाथ नयाँ पन पाउन सकिन्छ । कम्पनीले ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा दिएको छ । जुन पहिलेको भन्दा ठूलो हो । लेदरले मोरिएको नयाँ स्टेरिङ ह्वील, टकोकिटर सहितको नयाँ इन्ट्रुमेन्ट क्लष्टरले पुरानो क्वीडभन्दा यसलाई फरक देखाएको छ । जो केहिले कारमा बस्दा नै यी कुरा अनुभव गर्न सक्छन् ।

ड्यासबोर्डको डिजाइन पूर्णत परिमार्जन गरिएको छ । केहि कन्ट्रोल बटमहरुलाई नयाँ स्थानमा प्रयोग गरिएको छ । चालक र अगाडी बस्ने प्यासेन्जर दुबैलाई एयरव्यागको व्यवस्था यसमा गरिएको छ ।
क्वीडमा अगाडीको सिटमा कुनै परिमार्जन गरिएको छैन । पछाडिको सिट र सिटिङ पोजिसनभने केहि परिमार्जन गरिएको छ । क्लाइम्बर भेरियन्टमा भने पछाडिको प्यासेन्जरलाई आर्मरेष्ट दिइएको छ । पहिलेको भन्दा यसमा बुट स्पेश केहि घटेको छ । यसमा २७९ लिटरको बुट स्पेश पाउन सकिन्छ । यद्यपी पछाडिको सिट फोल्ड गरेर बुट स्पेश बढाउन भने सकिन्छ ।
सुरक्षाको लागि एबीएस, इबीडी सहितको एबीएस, रिभाइज पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, सिटबेल्ट रिमाइन्डर जस्ता फिचर यसमा उपलब्ध रहेको छ । रिमोर्ट सेन्ट्रल लकिङ, पावर विन्डो, पावर स्टेरिङ जस्ता फिचरले क्लाइम्बर भेरियन्टलाई उत्कृष्ट बनाएको छ ।
नेपालमा बिक्री हुने क्वीडका सबै तीन भेरियन्ट आरएक्सटी (ओ), क्लाइम्बर र आरएक्सटी (ओ) एएमटीमा समान १.० लिटर, थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६८ बीएच पावर प्रदान गर्ने छ ।
कम्पनीले आरएक्सटी (ओ) भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्लाइम्बर भेरियन्टको २५ लाख ९९ हजार र आरएक्सटी (ओ) एएमटीको २६ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

