काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ । त्रिशूली नदीले भित्तो कटान गर्दा पहिरो झरेर आइतबारदेखि अवरुद्ध सडक खुलाउने काम अघि बढाइएको हो ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमा मार्फत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका हुन् ।
उनका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै, पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको उनले बताए ।
रुखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताएका छन् । कृष्णभीरमा सडक पूरै नदीमा खसेकाले अहिले सडक भएकोभन्दा माथिल्लो पट्टीबाट नयाँ ट्रयाक खोल्न लागिएको हो ।
मनत्रालयले यसअघि नै तत्काल अस्थायी रुपमा सडक संचालनमा ल्याउने र दीर्घकालीन रुपमा सुरुङमार्ग वा वैकल्पिक सडक निर्माणको अध्ययन गर्ने निर्णय गरेको छ ।


