काठमाडौं । चिनियाँ स्र्टाटअप लीपमोटरले सन् २०२६ भित्रै चार नयाँ मोडलका कार बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले सोमबार आयोजित ‘अर्निङ कल्स’मा यस्तो घोषणा गरेको हो ।
युरोपियन ब्राण्ड स्टेलान्टिसको इन्ट्रीपछि लीपमोटर आक्रमक रुपमा अघि बढेको हो ।लीपमोटरले सन् २०२६ मा कुल १० लाख युनिट गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । जसमा ६ लाख नयाँ मोडल र ४ लाख पुराना मोडल बेच्ने योजना बनाएको हो ।
कम्पनीले यही वर्ष भित्र ए, बी र डी सिरिजमा चार नयाँ मोडल ल्याउने भएको हो । कम्पनीले सबैभन्दा पहिला यही मार्च २६ मा नयाँ कम्प्याक्ट एसयूभी ए १० सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको यो मोडलको टप भेरियन्ट साढे १४ हजार अमेरिकी डलरभन्दा कम मूल्यमै आउने अपेक्षा छ । यसमा अलिबाबाको क्वेन एआइ मोडेल समावेश हुनेछ ।
कम्पनीको प्रमुख ठूलो डी १९ अप्रिलको मध्यदेखि अन्त्यसम्ममा बजारमा आउनेछ। यो मोडेल अक्टोबर २०२५ मा पहिलोपटक विश्वभर प्रस्तुत गरिएको थियो।
करिब ३ लाख युआन मूल्य पर्ने यो लक्जरी मोडेल प्योर ब्याट्री इलेक्ट्रीक र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक (ईआरईभी) भर्सनमा आउने छ । ईआरईभीमा ८०.३ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री हुनेछ।
त्यस्तै, कम्पनीले आफ्नो ह्याचब्याक ए ०५ कम्प्याक्ट र लक्जरी डी ९९ एमपीभी जुनदेखि जुलाईसम्म बजारमा ल्याउने छ । कम्पनीले आफ्नो सस्तो ह्याचब्याकमै महँगा लग्जरी गाडीमा राखिने लाइडार सेन्सर राख्ने भएको छ ।
लीपमोटर सन् २०२५ मा पहिलोपटक नाफामा गएको छ । कम्पनीले सन् २०२५ मा ७ करोड ८३ लाख अमेरिकी डलर (११ अर्ब ४३ करोड रुपैयाँ) खुद नाफा कमाएको हो ।
कम्पनीको ईभी बिक्रीमा उछाल आएसँगै पहिलोपटक नाफामा गएको हो । सन् २०२५ मा कम्पनीको बिक्री १०३ प्रतिशतले बढेर ५ लाख ९६ हजार ५५५ युनिट पुगेको थियो । कम्पनीले २०२५ मा ६७ हजार ५२ युनिट निर्यात गरेको थियो । जुन चिनियाँ ईभी स्टार्टअपहरू मध्ये सबैभन्दा धेरै हो ।
कम्पनीको २०२५ को राजस्व अघिल्लो वर्षको तुलनामा १०१.३ प्रतिशतले बढेर कीर्तिमानी ६४.७३ अर्ब युआन पुगेको छ। कम्पनीको ग्रस मार्जिन २०२५ मा १४.५ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.१ प्रतिशत बिन्दुले धेरै हो । वार्षिक रूपमा यो नयाँ कीर्तिमान हो।
कम्पनीको सन् २०२५ को डिसेम्बरमा डेलिभरी नोभेम्बरको तुलनामा १४ प्रतिशतले घटे पनि चौथो त्रैमासिकमा २ लाखभन्दा बढी युनिट डेलिभरी गर्दै नयाँ त्रैमासिक कीर्तिमान कायम गरेको थियो ।
२०२५ को अन्त्यसम्म कम्पनीसँग ३७.८८ अर्ब युआन नगद थियो भने क्यास फ्लो पोजेटिभ थियो ।
चीनको एफएडब्लू समूहले डिसेम्बरको अन्त्यमा कम्पनीमा ३.७४ अर्ब युआन लगानी गरेको थियो । जसका कारण कम्पनीको सबैभन्दा ठूलो बाह्य शेयर होल्डर स्टेलान्टिसको हिस्सा घटेर १८.९९ प्रतिशतमा सीमित भएको छ ।

