१३ करोडमा किनिएका ईभी बस संचालनमा नआउँदै बिग्रिए, कुनैको ह्यान्डल गायब, कुनै पञ्चर

लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ ।

यही वैशाख १३ गते लु १ झ ६९६ नं. को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । वि.सं. २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।

कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि २८ लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकले जनाएका छन् ।

बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका-७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु ३१ प १८६ नं. को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु १ झ ६९४ नं. को भ्यान पछाडितर्फ ठोक्किएको छ ।

‘ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु १ झ ६९५ नं. भ्यानको चारवटै पाँग्रा पञ्चर भएको छ । ५ मध्ये ४ बसको एसी बिग्रिएको छ । लु १ झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ,’ उनले भने ।

एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।

लुम्बिनीमा ल्याइएका १४ भ्यान र ५ वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा ५ सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि ४०० किमी गुड्नसक्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ ।

अदालतले सेतोलाई हरियो नं. प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘उक्त समय सीमा नाघिसक्यो, अवस्था जस्ताको त्यस्तै छ ।’

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने अदालतको आदेशपछि सेतो नम्बर प्लेटलाई हरियो बनानउ लागिएको बताए ।

‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,’ कोषाध्यक्ष भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ ।’

ती बस र भ्यान १३ करोड रुपैयाँमा किनिएका हुन् ।


Back_to_top