काठमाडौं । महिन्द्राले नयाँ इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो इलेक्ट्रीक लाइनअपमै सबैभन्दा सस्तो मूल्यको ‘थ्रीएक्सओ ईभी’ सार्वजनिक गरेको हो ।
महिन्द्राले एक्सयूभी-४०० ईभीभन्दा सस्तो मूल्य राखेर यसको बिक्री थालेको हो । भारतमा दुई भेरियन्टको मूल्य सार्वजनिक गर्दै आगामी फेब्रुअरी २३ तारिखबाट डेलिभरी दिने जनाएको छ ।
भारतीय एसयूभी एक्सपर्टले एक्सयूभी थ्रीएक्सओ ईभीलाई एएक्स फाइभ र एएक्स सेभेन एल गरी दुई भेरियन्टमा ल्याउने जनाएको छ । एएक्स फाइभ भेरियन्टको मूल्य १३ लाख ८९ हजार भारतीय रुपैयाँ तोकिएको छ । एएक्स सेभेन एलको मूल्य १४ लाख ९६ हजार रुपैयाँ छ ।
अहिले पेट्रोलबाट चल्ने एक्सयूभी थ्रीएक्सओमा आधारित इन्ट्री मोडल सार्वजनिक भएसँगै महिन्द्राले एक्सयूभी ४०० को उत्पादन भने बन्द गर्ने भएको छ ।
महिन्द्राले एक्सयूभी थ्रीएक्सओलाई ३९.४ किलोवाट आवरको एलफपी ब्याट्री अप्सनमा ल्याएको छ । यसमा मोटर भने ११० किलोवाटको छ । गाडीको पीकटर्क ३१० न्यूटन मिटर छ । एआरएआईको रेन्ज घोषणा नगरेर महिन्द्राले यसको बास्तबिक सडकमा पाइने रेन्ज घोषणा गरेको छ ।

कम्पनीका अनुसार यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गरेर २८५ किलोमिटर गुडाउन सकिनेछ । ५० किलोवाटको डीसी चार्जरले यसलाई सून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५० मिनेटनै लाग्नेछ ।
चार मिटरभन्दा केही मात्रै छोटो थ्रीएक्सओ ईभीमा १०.२५ इन्चको दुई स्कृन पाउन सकिन्छ । ड्यूल जोन क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, ६ एयरब्याग, क्रुज कन्ट्रोल, हर्मन कार्डनको ७ स्पीकर र एडास भित्रका धेरै फिचर्स पाउन सकिन्छ ।
यसको बाहिरी डिजाइन पनि थ्रीएक्सओ पेट्रोलकै जस्तो छ । १७ इन्चको ह्वील, सबै एलइडी लाइट, पानारोमिक शनरुफ, अटो हेडल्याम्प जस्ता फिचर्स पाउन सकिन्छ ।
नेपालमा पेट्रोलबाट चल्ने थ्रीएक्सओ उपलब्ध भएको कारण ईभी पनि छिट्टै नेपाल आउन सक्ने हाम्रो अनुमान छ । महिन्द्राले अघिल्लो महिना मात्रै नेपालमा बीई सिक्स र एक्सयूभी नाइन ई बिक्री सुरु गरेको छ ।

