काठमाडौं । टेक्निसियनको काम भन्ने बित्तिकै धेरैले पुरुष सम्झने हाम्रो समाजमा महिलाले मात्रै चलाएको सर्भिस सेन्टर अनौठो लाग्न सक्छ । तर, त्यसलाई साकार बनाएको छ अग्नि इनकर्पोरेट प्रालिले ।
अग्नि महिन्द्राको आधिकारिक बिक्रेता हो । कम्पनीले आधुनिक ईभी बजारमा ल्याएसँगै महिलाहरूको कमाण्डमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको स्वयम्भूमा संचालनमा रहेको सर्भिस सेन्टरमा आधा दर्जन महिला टेक्निसियन कार्यरत छन् ।
कम्पनीले विद्युतीय एसयूभी बीई सिक्स र एक्सईभी नाइन ई बजारमा ल्याएसँगै ‘डेडिकेटेड’ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
गाडी वासिङमा लाने चालकदेखि वासिङमा काम गर्ने र टेक्निसियनको रूपमा काम गर्ने सबै महिला नै छन् । त्यस बाहेक पार्टस डिभिजनदेखि एकाउन्ट डिभिजनसम्म महिलाकै काँधमा नेतृत्व छ ।
महिला सशक्तीकरणमा पनि यस्ता सर्भिस सेन्टर सहयोगी हुने अनुमान गर्न सकिन्छ । यसले उपभोक्तामा कस्तो सेवा प्रवाह गर्न सक्छ, त्यो हेर्न भने थप समय कुर्नै पर्ने हुन्छ । तर, त्यहाँ भेटिएका हरेक कर्मचारीको आत्मबल भने निकै उचो भएको हामीले पायौं ।

