व्यापक अपडेटसहित बजारमा आउँदै महिन्द्राका चर्चित दुई एसयूभी

काठममाडौं । महिन्द्राले आफ्नो दुई लोकप्रिय एसयूभीको फेसलिफ्ट चाँडै बजारमा ल्याउने भएको छ ।

गत जनवरीमा एक्सयूभी ७०० लाई प्रतिस्थापन गरी नयाँ मोडल एक्सयूभी सेभेन एक्सओ बजारमा ल्याएको महिन्द्राले चाँडै थार र महिन्द्रा स्कोर्पियो-एनको फेसलिफ्ट मोडल बजारमा ल्याउने भएको हो ।

कम्पनीले हाल यी दुवै एसयूभी बजारमा ल्याउने तयारी समेत थालिसकेको छ । हाल दुवैको फेसलिफ्ट मोडल विभिन्न स्थानमा परीक्षण भइरहेका छन् ।

बजारमा रफ टफ एसयूभीहरूको माग बढ्दै जाँदा महिन्द्राले बडी-अन-फ्रेम महिन्द्रा थार र महिन्द्रा स्कोर्पियो-एन फेसलिफ्ट ल्याउने भएको हो । दुवै मोडलको लोकप्रियता कायमै राख्न कम्पनीले थप आकर्षक बनाउने छ ।

कम्पनीले सन् २०२२ मा सार्वजनिक गरिएको गरेको महिन्द्रा स्कोर्पियो-एन यस वर्षको पहिलो फेसलिफ्ट मोडलको रूपमा आउने भएको छ । यसको फेसलिफ्ट संस्करणमा नयाँ रेडिएटर ग्रिल, नयाँ तल्लो एयर इन्टेक र अगाडि नयाँ बम्पर हुने सम्भावना छ ।

 

कम्पनीले स्कोर्पियो-एनमा रि-डिजाइन गरिएको हेडलाइट, नयाँ १८-इन्च एलोय ह्वील र परिमार्जित टेल लाइटहरू राख्ने सम्भावना छ । साथै, महिन्द्राले नयाँ रङ विकल्प पनि थप्न सक्छ।

इन्टेरियमा भने नयाँ रङ संयोजन, केही नयाँ र सुधारिएका फिचरहरू मात्र हुने सम्भावना छ । जसमा १०.२५ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट प्रणाली समावेश हुन सक्छ। फेसलिफ्ट स्कर्पियो एनको इन्जिन र ट्रान्समिसनमा कुनै परिवर्तन हुने सम्भावना छैन । यो दोस्रो त्रैमासभित्रै बजारमा आउने छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा सार्वजनिक गरेको दोस्रो पुस्ताको थारलाई पनि परिमार्जन गर्दैछ । महिन्द्राले नयाँ बाहिरी डिजाइनसहित थारको फेसलिफ्ट ल्याउने भएको हो ।

नयाँ महिन्द्रा थारमा अगाडिको भाग अझ प्रिमियम देखिने छ । तर यसको परिचित बलियो स्वरूप भने कायम रहनेछ। स्पाइ तस्बिरहरूमा देखिए अनुसार यसको नयाँ डिजाइन ठूलो थार रोक्सबाट प्रभावित हुनेछ । जसमा एलईडी हेडलाइटसँगै सी-आकारका डीआरएल, डबल–स्लट ग्रिल, ठूलो १९ इन्चको एलोय ह्वील रहने छ ।

कम्पनीले गत वर्ष थारको इन्टेरियरमा सामान्य अपडेट गरेको थियो । अहिले पनि अझ धेरै सुधारको सम्भावना छ। थारमा अझै पासिभ कीलेस एन्ट्री, पुश बटन स्टार्ट/स्टप, अट -डिमिङ रियरभ्यु मिरर, वायरलेस स्मार्टफोन चार्जर र भेन्टिलेटेड सिट जस्ता सुविधाहरू उपलब्ध छैनन् । यस वर्षको फेसलिफ्टमा यीमध्ये केही वा सबै सुविधा थप्न सक्छ।

फेसलिफ्ट थारको पनि इन्जिन र ट्रान्समिसनमा कुनै परिवर्तन हुने सम्भावना छैन । कम्पनीले नयाँ थारलाई सम्भवतः जुलाइदेखि सेप्टेम्बर बीच सार्वजनिक गर्नेछ।

नेपालमा पनि महिन्द्रा स्कर्पियो निकै लोकप्रिय छ । आम व्यक्तिदेखि सरकारी अधिकारीहरूको पनि पहिलो रोजाइ बनेको देखिन्छ । थार भने एड्भेन्चर र अफरोड यात्रा मनपराउनेहको नजरमा पर्ने गरेको छ ।


Back_to_top