महिन्द्राले देखायो लोभलाग्दो ‘भिजन एस’

काठमाडौं । महिन्द्राले भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर नयाँ कन्सेप्ट कारहरु सार्वजनिक गरेको छ । कम्पनीले भिजन एस, भिजन एक्स, भिजन टी र भिजन एसएक्सटी सार्वजनिक गरेको हो ।

यी चार कन्सेप्ट मध्ये भिजन एस निकै रोचक देखिएको छ । कम्पनीले ल्याएको भिजन एस ४ मिटरभन्दा छोटो एसयूभी हो । तर, यसको कन्सेप्ट डिजाइनबाटै के प्रस्ट हुन्छ भने यो प्योर अफरोड मेसिन हो । अफरोड टायरसहित १९ इन्चको अलोय ह्वील दिएको देखिन्छ ।

महिन्द्राले भिजन एसको फ्रन्ट ग्रिलको बीचमा टुइन पीक लोगो दिएको छ । एल आकारमा दिइएको एलइडी डे टाइम रनिङ लाइट, ग्रिलमा प्रयोग भएको एलइडी लाइट र तल्लो बम्परमा प्रयोग भएको ‘फोर आई एलइडी लाइट’ले यसको डिजाइनमा विल्कुलै नयाँ पन दिएको छ ।

अफरोड एसयूभीको रुपमा आउने भएको कारण निकै ठूलो र स्टाइलिस ह्वीलआर्क, निकै बाक्लो बडी क्लाडिङ, फुटपेग, फ्लस टाइप डोर ह्याण्डल दिएको छ । पछाडिको भाग थप आकर्षक लाग्छ । टेलगेटमा दिइएको स्पेयर टायर, निकै स्पोर्टी बम्पर, स्कीड प्लेट, रुफ र्याक जस्ता कुराले यसलाई निकै अलग बनाएको छ ।

भिजन एसको इन्टेरियरमा डिजिटल र फिजिकल बटमहरुको ब्यापक मिश्रण पाउन सकिन्छ । नयाँ डिजाइनको स्टेरिङ ह्वील, युनिक एसी भेन्ट, फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र प्रिमियम डिजाइनको सिट रहने छ ।

महिन्द्राले ‘एनयू-आईक्यू’ प्लेटफर्ममा तयार पारेको भिजन एसको लम्बाइ ३९९० एमएम हुनेछ । यसलाई इलेक्ट्रीक, हाइब्रिड, डिजेल र पेट्रोल इन्जिनमा ल्याउने गरी महिन्द्राले तयार पारेको हो । भिजन एस सन् २०२७ बाट बजारमा आउने छ ।


Back_to_top