उत्पादन सुरु भएको ९ वर्षपछि बन्द भयो ‘इग्निस’

काठमाडौं । मारुती सुजुकीले आफ्नो नेक्सा शोरुमबाट बिक्री गर्दै आएको इन्ट्री मोडल इग्निस ह्याचव्याको उत्पादन चुपचाप बन्द गरेको छ । अहिले भारतीय डिलर नेटवर्कमा रहेको बाहेक अन्य थप उत्पादन बन्द भइसकेको छ ।

कम्पनीले ९ वर्ष अगाडि २०१७ फेब्रुअरीमा बजारमा ल्याएको इग्निस पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध थियो । बजारमा ल्याएको ३ वर्षपछि फेसलिफ्ट भएपनि अर्को जेनेरेशन मोडलमा इग्निस आएन ।

मारुती सुजुकीले क्रसओभर डिजाइनमा तयार पारेको इग्निस निकै फरक किसिमको डिजाइनमा उपलब्ध थियो । नेपाली बजारमा पनि यसको अनौठो डिजाइनलाई उपभोक्ताले रुचाएनन् । बिक्री सुरु भएको केही वर्षमा नै यसको आयात रोकिएको थियो ।

भारतमा पनि सबैभन्दा धेरै इग्निसको बिक्री सन् २०२२ मा भएको थियो । त्यो वर्ष ५१ हजार १७६ युनिट इग्निस बिक्री भएको थियो ।

कुन वर्ष कति बिक्यो ?

भारतीय बजारमा सन् २०१७ मा ४८ हजार ४२५ युनिट बिक्री भएको इग्निस सन् २०१८ मा ४३ हजार ६०२ र २०१९ मा २२ हजार १४० युनिट बिक्री भयो ।

सन् २०२० मा २७ हजार २०० र २०२१ मा ३२ हजार ७३५ युनिट बिक्री भएको थियो । सबैभन्दा धेरै बिक्री २०२२ मा ५१ हजार १७६ युनिट भयो । त्यसपछि निरन्तर ओरालो लागेको इग्निस अन्तत् बन्द भयो ।

सन् २०२३ मा ३८ हजार ३१८ युनिट, २०२४ मा २६ हजार ८६० र २०२५ मा २७ हजार ९०० युनिट बिक्री भयो । सन् २०२५ मा नै सुजुकीले आफ्ना सबै नयाँ प्रोडक्ट अपग्रड ग¥यो । तर, इग्निसमा केही गरेन । अन्तत् कम्पनीले इग्निसको उत्पादन बन्द गरेको अटोकार इन्डियाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।


Back_to_top