काठमाडौं । मारुती सुजुकीले ब्रेजाभन्दा कम मूल्यको क्रसओभर कार बजारमा ल्याउने भएको छ । बलेनोमा आधारित क्रसओभर झट्ट हेर्दा कुप्पे एसयूभी डिजाइनमा आउने सहजै अनुमान गर्न सकिन्छ ।
मारुती सुजुकीले नयाँ क्रसओभरलाई आकर्षक बनाउन यसको फ्रन्ट र साइड बडी ग्राण्ड भिटाराबाट प्रेरित रहेर तयार गरेको छ । यसलाई कम्पनीले जनवरी १३ तारिखबाट हुन गइरहेको अटो एक्स्पो २०२३ मा शोकेस गर्ने तयारी गरेको हो ।
आन्तरिक कामको लागि कोड नेम ‘वाईटीबी’ दिएर तयार गरिएको कम्प्याक्ट कुप्पे एसयूभी डिजाइनको कारण यसको चर्चा निकै बढिरहेको छ । यही सेग्मेन्टमा रहेको हुन्डाईको आई २० एक्टीभ उत्पादन बन्द भएसँगै मारुती सुजुकीले बलेनोको क्रसओभर निर्माण सुरु गरेको थियो ।
कम्पनीले नयाँ क्रसओभर मोडलमा रहेको इन्जिन र फिचरको विषयमा धेरै जानकारी नदिएपनि यसमा १.० लिटर थ्रि सिलिण्डर टर्बो पेट्रोल इन्जिन रहने बताइएको छ । त्यसैगरी अहिले बलेनोमा रहेको बुष्टरजेट फोर सिलिण्डर इन्जिनमा पनि नयाँ मोडल आउने अपेक्षा गर्न सकिन्छ ।
कम्पनीको योजना मुताविक यसले बजारमा आफ्नो उपस्थिति बलियो बनाउने हो भने रेनो काइगर, निसान म्याग्नाइट, टाटा पन्च जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्न सक्नेछ ।
मारुती सुजुकीले नयाँ क्रसओभर मोडलमा ९ इन्चको फ्लोटिङ टचस्कृन, वायरलेस कनेक्ट फिचर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मल्टीपल एयरब्याग, ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले, एड्जस्टेवल हेडरेष्ट, वायरलेस चार्जर जस्ता आधुनिक फिचर पाउन सकिने छ ।
कम्पनीले यसलाई अटो एक्स्पो २०२३ मा सार्वजनिक गरेपनि यसको आधिकारीक विक्री भने सन् २०२३ को मध्यबाट सुरु गर्ने अनुमान गरिएको छ । भारतमा विक्री सुरु भएपछि यो नयाँ क्रसओभर नेपाल पनि आउने छ ।

