काठमाडौं । पारामाउन्ट मोटर्सले आफ्नो प्रतिक्षीत इलेक्ट्रीक कार एमजी जेडएस नेपाली बजारमा बिक्री सुरु गरेको छ । यो नेपाली बजारमा उपलब्ध अन्य इलेक्ट्रीक कारको तुलनमा उच्च ग्राउन्ड क्लियरेन्स भएको एसयूभी हो । यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ ।
एमजीले बेलायत, भारत, नेपाल लगायतका देशमा एउटै महिनामा यी गाडीहरुको बिक्री सुरु गरेको हो । नाडा अटो शो २०१९ भन्दा केही समयअघिबाटै बुकिङ लिन सुरु गरिएको यो इलेक्ट्रीक कार यो हप्ता ४० जनालाई डेलिभरी दिने जनाएको छ । यसको करिब १५० यूनिट बुकिङ रहेको कम्पनीले जनाएको छ ।

यस एसयूभीको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४४ एमएम रहेको छ । जसले गाडीको भित्री भाग निकै स्पेशियस देखिएको छ । यसमा २५८५ एमएमको ह्वील वेस दिइएको छ ।

११० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको यो एसयूभीमा ४४.५ किलोवाटको ट्रेनरी लिथियम आयन व्याट्री दिइएको छ । उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि प्रदान गर्नेछ ।

कम्पनीले दाबी गरे अनुसार यसले एकपटकको फुलचार्जमा ४२८ किलोमिटर माइलेज दिने दाबी गरेको भएतापनि एनइडीसीले औषत रेञ्ज ३३५ किलोमिटर प्रदान गर्ने जनाएको छ ।

१४८ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्ने गाडीले ६.२ सेकेन्डमा १०० किलोमिटरको रफ्तार पकड्न सक्नेछ । आठ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड तथा ६ एयरव्याग र १७ इन्चको डवल टोन अलोय ह्वीलजस्ता फिचरले एसयूभीलाई प्रिमियम बनाएको छ ।

यस मोडलमा इलेक्ट्रीक पानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेवल सिट, लेदर सिटजस्ता फिचर समावेस रहेको कम्पनीले जनाएको छ । यसको मूल्य भने ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


