काठमाडौं । जेएसडब्लू एमजी मोटर इन्डियाले उत्पादन गरेको एमजी मेजेस्टरले रेल तानेर गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गरेको छ । एमजी मेजेस्टरले ४०६.४ टन तौल भएको रेल तानेर सबैभन्दा भारी ट्रेन तान्ने एसयूभीको रेकर्ड बनाएको हो ।
एमजी मेजेस्टरले यो उपलब्धि मार्चको अन्त्यतिर जम्मू-कश्मीरको काकापोरा र अवन्तिपोरा बीचको सुरक्षित रेलवे खण्डमा हासिल गरेको हो ।
मेजेस्टरले ४०६.४ टन तौल भएको एउटा विशाल रेललाई ३०० फिटको दूरीसम्म तानेको थियो । जुन गिनिज वल्र्ड रेकर्डले तोकेको ४०० टन र १०० फिटको न्यूनतम मापदण्डभन्दा धेरै बढी हो । उक्त ट्रेनमा ‘वाग ९ एचसी’ लोकोमोटिभका साथै यात्रु र गार्डका डिब्बाहरू थिए । जसको कुल तौल स्वतन्त्र रूपमा प्रमाणित गरिएको थियो।
रेल तान्न प्रयोग गरिएको एसयूभी स्ट्याण्डर्ड प्रोडक्सन मोडल थियो । जसको इन्जिन, ड्राइभट्रेन वा ट्र्याक्सन प्रणालीमा कुनै परिमार्जन गरिएको थिएन । सवारी साधनले मात्र कुनै बाह्य सहयोग बिना ट्रेनलाई गुडाएको सुनिश्चित गर्न यो प्रयास कडा निगरानीमा गरिएको थियो।

बेलायती निर्माता एमजीले गत वर्ष ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ मा सार्वजनिक गरेपछि केही हप्ता अघि मात्र मेजेस्टरलाई बजारमा ल्याएको हो।
एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचार्ज्ड डिजेल इन्जिन छ । जसले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्दछ। यसमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ।
कम्पनीका अनुसार बलियो टर्क, सटिक ट्र्याक्सन व्यवस्थापन र मजबुत संरचनात्मक बलले गर्दा नै यो एसयूभीले रेकर्ड बनाउन सफल भएको हो ।

एमजी मेजेस्टरको मूल्य भारतमा छिट्टै घोषणा हुने अपेक्षा गरिएको छ। हाल ४१ हजार भारतीय रूपैयाँमा बुकिङ खुला गरिएको छ ।
रेकर्ड तोड्ने सफलताका साथै मेजेस्टरमा उत्कृष्ट अफरोड क्षमताहरू पनि छन् । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यस एसयूभीमा ८१० एमएम गहिरो पानीमा चल्न सक्ने क्षमता पनि छ ।
सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास प्रणाली जडान गरिएको छ। एमजी म्याजेस्टर एसयूभीको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२।३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२।३ इन्चकै इनफर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील छ ।
कम्पनीले यसमा थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउन्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिट दिएको छ ।

