एमजी मोटर्सले भारतको गुजरातमा स्थापना गरेको प्लान्टबाट उत्पादन सुरु गरेको छ । कम्पनीले ७५ प्रतिशत पार्टस् भारतीय बजारमा नै उत्पादन गर्ने जनाएको छ । कम्पनीले भारतीय बजारमा उत्पादन भएको पहिलो एसयूभी २०१९ को मे महिनामा बजारमा ल्याउने अनुमान गरिएको छ ।
कुन मोडल भारतीय बजारमा पहिलो एसयूभीको रुपमा ल्याउन लागेको हो, त्यो बिषयमा कम्पनीले केहि उल्लेख गरेको छैन । तर, कम्पनीले ल्याउने पहिलो एसयूभी जेड एस वा जीएस हुने अनुमान गरिएको छ ।
भारतमा स्थापना भएको प्लान्टबाट करिब ८० हजार यूनिट उत्पादन क्षमता रहेको छ, तर निकट भबिष्यमा २ लाख यूनिट पुर्याउने लक्ष्य कम्पनीले बनाएको एमजी इन्डियाका प्रसिडेन्ट राजीव छावाले जानकारी दिएका छन् ।
यस्तो छ लञ्चिङको तयारी
भारतीय बजारमा सुरुवातमा नै करिब ४५ डिलर नेटवर्कसहित आउने तयारी गरेको कम्पनीले तत्काल त्यो भन्दा धेरै नेटवर्क बिस्तार नगर्ने जनाएको छ । साथै, कम्पनीले १०० वटा कस्टमर टच प्वाइन्ट बनाई ग्राहकलाई एमजीसँग जोड्ने तयारी गरिरहेको छ ।
कम्पनीले भारतीय बजारमा मारुती सुजुकी र हुन्डाई जस्ता ब्रान्डलाई कडा टक्कर दिनेगरी प्राइसिङ गर्ने तयारी गरेको जनाएको छ ।
नेपाल कनेक्सन
मोरिस ग्यारेजको उत्पादन नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको एमजीका कारको बिक्री निकै राम्रो रहेको कम्पनीले जनाएको छ ।
२०१९ को तेस्रो क्वाटरबाट भारतीय बजारमा उत्पादन भएका एमजी कार नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।


