३९ फिचर भएको लाइसेन्स बारे प्रश्न उठेपछि मन्त्रालयले दियो यस्तो स्पष्टीकरण

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले छाल छापिरहेको क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बारे प्रश्न उठेपछि सूचना तथा प्रविधि मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल छपाई भएको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्र पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको रहेको जनाएको हो ।

मन्त्रालयले विगतमा प्रयोग गरिएको स्मार्ट चिपको पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन(अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा क्यूआर कोडसहितको लाइसेन्स प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ स्मार्ट अनुमतिपत्रमा ३९ वटा भिन्न भिन्न सुरक्षा फिचर रहेका छन् । एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने भएकाले यी सवारी चालक अनुमतीपत्रहरू अहिलेसम्म जारी भएको सबैभन्दा सुरक्षित र अत्याधुनिक सवारीचालक अनुमतिपत्र भएको मन्त्रालयको दाबी छ ।

यस्तो छ मन्त्रालयले क्यूआर कोडसहितको लाइसेन्स बारे दिएको स्पष्टीकरण

सुरक्षण मुद्रण केन्द्रमार्फत छपाई भइरहेको स्मार्ट सवारीचालक अनुमतिपत्रको प्राविधिक पक्ष र सुरक्षा सुदृढीकरणका सम्बन्धमा नेपाल सरकारले चालेको कदम र रणनीतिक उपलब्धिहरू सम्बन्धमा सरोकारवाला सबैको जानकारीका लागि यो विज्ञप्ती जारी गरिएको छ।

हाल छपाई भएको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्र पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको ISO 7810 ID-1 गुणस्तरमा विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आकारमा रहेको र विकसित मुलुकहरूले आफ्ना संवेदनशील परिचयपत्र र अनुमतिपत्रहरूमा दशकौँदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित रहेको छ। विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’ को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन-अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी-प्रोटेक्टेड बौद्धिक क्यू.आर. (I-QR) प्रविधि अवलम्बन गरिएको छ। जसले अफलाइन प्रमाणीकरणलाई संस्थागत गरी ट्राफिक प्रहरी वा अन्य नियामक निकायहरूले कुनै पनि स्थानमा इन्टरनेटको पहुँच बिना नै कार्ड स्क्यान गरी सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम बनाएको छ।

सुरक्षण मुद्रण केन्द्रबाट उत्पादित नयाँ स्मार्ट अनुमतिपत्रमा ३९ वटा भिन्न-भिन्न सुरक्षण विशेषताहरू समावेश गरिएका छन् । यसको पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (Machine Readable Zone – MRZ) र फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन्, दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य यभी मसी (UV Ink) र इन्फ्रारेड-एब्जोर्प्सन जस्ता सुरक्षा प्रणाली राखिएका छन्। त्यस्तै तेस्रो वा फोरेन्सिक तहमा भने प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने उच्चतम सुरक्षा राखिएको ‘डिजिटल फिंगरप्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षर’ समेत समावेश गरिएको छ। एक कार्ड अर्को कार्ड सँग पूर्णतः भिन्‍न हुने यि सवारी चालक अनुमतीपत्रहरू अहिलेसम्म जारी भएको सबैभन्दा सुरक्षित र अत्याधुनिक सवारीचालक अनुमतिपत्र भएको समेत जानकारी गराइन्छ।

सम्पूर्ण उत्पादन प्रक्रिया ‘ईन्ड-टु-ईन्ड अफलाइन’ ढाँचामा रहेको, तथ्यांक चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने सम्भावना पूर्णतः नरहेको, क्युआर कोडको भ्यालिडिटी कार्डको अवधिसम्म आजीवन सुनिश्चित रहेको, तुलनात्मक कम खर्चिलो प्रक्रियाबाट हालको प्रविधियुक्त छपाइ रहेकोले नेपाल सरकारको प्राथमितकता अनुसार नागरिकको व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा गर्न सक्षम प्रणाली रहेको समेत मन्त्रालय स्पष्ट पार्न चाहन्छ।

नेपाललाई सुरक्षण मुद्रण दस्तावेज उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा नेपाल सरकारको यस पहलकदमीले विदेशी मुद्राको बहिर्गमन रोक्ने, स्वदेशमै सुरक्षित रूपमा संवेदनशील कागजातहरू मुद्रण गर्न सक्ने क्षमता विकास भएको छ। भविष्यमा सरकारी संयन्त्रबाटै सवारीचालक अनुमतिपत्रका अलावा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर र विश्वविद्यालयका प्रमाणपत्रहरू समेत उत्पादन हुने सुनिश्चितता समेत बढेको छ।

राष्ट्रिय महत्त्वको परियोजनामा सहयोग पुर्‍याउने नेपाल सरकारका विभिन्न निकायहरू, यातायात व्यवस्था विभाग, सञ्चार जगत् र आम नागरिक समुदायप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हार्दिक आभार प्रकट गर्दछ। छपाइ र वितरणका सम्बन्धमा कुनै पनि सुझाव वा जिज्ञासा भएमा मन्त्रालय सधैँ खुला रहेको र सबै प्रकारका द्विविधाहरूलाई तथ्यका आधारमा स्पष्ट पार्न प्रतिबद्ध रहेको समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।


Back_to_top