काठमाडौं । प्रतिनिधि सभा सांसद महावीर पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका छन् ।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै ट्याक्सीको नयाँ दर्ता प्रक्रिया रोकिँदा सिण्डिकेट मौलाएको भन्दै उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
उनले वि.सं. २०५७ सालमा करिब ७ हजार ५०० ट्याक्सी दर्ता रहेको र २०७२ सालको भूकम्पपछि थप १ हजार ५०० ट्याक्सी थपिएर हाल जम्मा ९ हजारको हाराहारीमा मात्र ट्याक्सी संचालनमा रहेको जानकारी दिए ।
२०५७ सालदेखि काठमाडौंको जनसंख्यामा उल्लेख्य वृद्धि भए पनि ट्याक्सीको संख्या नबढाइ सरकारले जानाजानी सिण्डिकेट लागू गरेको उनले बताए ।
‘सरकारले २०५७ सालमा ७ हजार ५०० र भूकम्पपछि २०७२ सालमा १५०० ट्याक्सी थपेको रहेछ । अहिले जम्मा ९ हजार ट्याक्सी छन् । दर्ता गर्ने व्यवस्था नहुँदा सिण्डिकेट मौलाएकाे छ । सरकारले जानाजानी त्यस्तो गरेको रहेछ । जनसंख्या बढे अनुसार ट्याक्सीको संख्या बढाउनुपर्छ । यसले स्वरोजगार सृजना हुन्छ,’ उनले भने ।
उनले यसअघि संसदमा ट्याक्सीको नम्बर प्लेटमा महँगोमा किनबेच भइरहेको भन्दै आवाज उठाएका थिए ।


