मंसिर १५ भित्रै पुरानो मापदण्डका सवारी भन्सार जाँचपास गराइसक्न नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडाले) यही मंसिर १५ गतेभित्रै पुरानो मापदण्ड (युरो ४ )का सवारी साधन भन्सार जाँचपास गराइसक्न व्यवसायीहरूलाई आग्रह गरेको छ । नाडाले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

सरकारले असार ९ गतेदेखि ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०८२’ लागू गर्दै दुईपाँग्रे युरो ५ र चारपाँग्रे युरो ६ भन्दा तल्लो मापदण्डका सवारी ल्याउन नपाइने व्यवस्था गरेको थियो ।

तर, एकपटकका लागि उक्त मापदण्ड लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका युरो ४ मापदण्डका सवारी साधन ल्याउन दिने निर्णण गरेको छ । सोही व्यवस्था अनुसार मंसिर १५ भित्र आफ्ना सवारी साधन जाँचपास गराइसक्न नाडाले अनुरोध गरेको हो ।

‘नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मंसिर १५ गतेसम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्व विदितै छ,’ नाडाले भनेको छ, ‘सोही प्रावधान अनुसार सो तोकिएको समयावधी भित्र आफना बाँकी रहेका सवारी साधनहरूको पनि भन्सार जाँचपास गर्नु हुन समेत अनुरोध गर्दछौं ।’

उक्त व्यवस्था कार्यान्वयका लागि वन तथा वातावरण र अर्थ मन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको नाडाले जनाएको छ ।


Back_to_top