काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’मा सुधार गर्न सझाव दिएको छ ।
नाइमाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष ट्याक्सीका वर्तमान मापदण्डमा देखिएका केही व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना विस्तृत सुझावहरू पेश गरेको हो ।
नाइमाले तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेस गर्न ध्यानाकर्षण गराएको छ ।
ट्याक्सी सेवा मापदण्ड, २०८१ मा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा व्यवस्था गरिएको छ। उक्त मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरणहरू स्पष्ट रूपमा तोकिएका छन् । ती, मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था रहेको छ।
हाल बाग्मती प्रदेशमा व्यवहारमा सेडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिएको छ । नाइमाले सेडान बाहेकका अन्य उपयोगी, यात्रुमैत्री तथा विभिन्न आवश्यकता अनुकूल सवारी साधनहरूलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको उल्लेख गरेको छ।
मापदण्डमा तोकिएका सबै शर्तहरू पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति प्रदान गरिएमा ट्याक्सी सेवा प्रदायकलाई आवश्यकताअनुसार सेवा दिन थप लचकता प्राप्त हुने, यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकार अनुसार थप विकल्प उपलब्ध हुने नाइमाको भनाइ छ ।
विश्वका विभिन्न देशहरूमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधन मार्फत संचालन भइरहेका छन् । नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्पहरू सीमित रहेको अवस्था देखिएको छ। केही अन्य सहरहरूमा फरक वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिइएको भए तापनि बागमती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको धारणा रहेको छ।
यस सन्दर्भमा, साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा राष्ट्रिय मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्टिकरणहरू पूरा गर्ने सवारी साधनहरूलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।
नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ।
सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवद्र्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न नाइमा प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरिएको छ।

