काठमाडौं । एमएडब्लू वृद्धिले केही दिनअघि सार्वजनिक गरेको नामी ह्याचव्याक कार मासिक २३ हजार किस्ता मै किन्न सकिन्छ । त्यसको लागि उपभोक्ताले २० होइन ५० प्रतिशत डाउन पेमेन्नट तिर्नु पर्ने हुन्छ ।
अहिले विद्युतीय कारमा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा सुविधा पाउन सकिन्छ । तर, धेरै रकम कर्जा लिएर गाडी किन्दा सुरुमा थोरै पैसामा गाडी चढ्न पाइएपनि ब्याज वापत भने धेरै रकम तिर्नु पर्ने हुन्छ ।
नामीको इन्ट्री भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैले तपाईसँग १५ लाख रुपैयाँ डाउन पेमेन्ट वापत तिर्ने रकम छ भने बाँकी १५ लाख रुपैयाँ कर्जा लिएर नामी ह्याचव्याक किन्दा मासिक २३ हजार ४०० रुपैयाँ हाराहारी मात्रै किस्ता तिर्दा पुग्छ ।
अहिले बैंकहरुले ८ प्रतिशत हाराहारीमै ७ वर्षसम्म परिवर्तन नहुनेगरी कर्जा सुविधा उपलब्ध गराउन थालेका छन् । त्यसैले अहिले गाडी किन्दा ब्याजदर पनि थोरै लाग्छ ।
यस्तो छ नामी ह्याचव्याक
नामी कार विभिन्न तीन भेरियन्टमा उपलब्ध छ । जसमध्ये ई-वान र ई-टु भेरियन्टमा ३१.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा मोटर भने ७० किलोवाटको पाउन सकिन्छ । सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ ।
टप भेरियन्ट ई-थ्रीमा भने ४२.३ किलोवाट आवरको ब्याट्री छ । मोटर भने समान ७० किलोवाटकै पाउन सकिन्छ । ठूलो ब्याट्रीको रेन्ज भने ३१७ किलोमिटर डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
चाइनिज एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको नामीमा दुई एयरब्याग दिइएको छ । यसमा दिइएको भेहिकल स्टेविलिटी एसिस्टेन्ससँग इबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेवलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल र एडास फिचर उपलब्ध छ ।
स्लीक डिजाइन, सबै एलइडी लाइट, १७ इन्चको अलोय ह्वील, फ्लस ह्याण्डलबार, फ्रेमलेस डोर, ड्यूल टोन बडी कलर उपलब्ध कारमा लग्जरी क्याबिन पाउन सकिन्छ । मेमोरीसहितको वेलकम सिट, लेदर र्याप स्टेरिङ ह्वील, १२.८ इन्चको एचडी स्कृन, वायरलेस चार्जर जस्ता फिचर यसमा पाउन सकिन्छ ।
पाँच इन्चको इन्फर्मेशन डिस्प्ले, ३२ कलरमा एम्बियन्ट लाइट उपलब्ध कारमा ३६० डिग्री क्यामेरा दिइएको छ । यसमा नर्मल, इको र स्पोर्टस् गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ ।
कम्पनीले ई-वान भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई-टु भेरियन्टको ३१ लाख ९९ हजार र ई-थ्री भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

