काठमाडौं । नेपाल प्रहरीले केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्,’ भनी फैलाइएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार सत्य नभएको र पूर्णतः भ्रमपूर्ण रहेको स्पष्ट पारेको हो ।
ट्राफिक नियम उल्लंघन गरे बापत गरिने जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने कानुनी व्यवस्था रहेको प्रहरीले स्पष्ट पारेको छ ।
ट्राफिक जरिवाना सिधै सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको भन्दै तथ्य र आधिकारिक जानकारीबिना अनुमानको आधारमा टिप्पणी भइरहेको प्रहरीले जनाएको छ ।
साथै, यसले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने विज्ञप्तिमा जनाइएको छ ।
‘…सो बापत नेपाल सरकारबाट कुनै अतिरिक्त शुल्क (सुविधा) ट्राफिक प्रहरीले प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको व्यहोरा जानकारी गराउँदै तथ्य र आधिकारिक जानकारीबिना अनुमानका भरमा समाचार तथा टिप्पणी प्रकाशित प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रति विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न अनुरोध छ,’ प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रहरीले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलग्न सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैसँग अनुरोध गरेको छ। साथै, कुनै पनि समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न समेत नेपाल प्रहरीले आग्रह गरेको छ।



