अर्को साता नयाँ डिजाइनमा आउँदै चेतक इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता बजाजले अर्को साता चेतक इलेक्ट्रीक स्कुटरको नयाँ भेरियन्ट बजारमा ल्याउने भएको छ ।

कम्पनीले रेगुलर चेतक मोडलभन्दा फरक डिजाइनमा नयाँ चेतक इलेक्ट्रीक भारतीय बजारमा ल्याउने भएको हो । कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर जनवरी १४ देखि बजारमा ल्याउने भएको हो ।

हालै सार्वजनिक मिडिया रिपोर्ट अनुसार स्कुटरको टेल लाइट चेन्ज भएको छ । यससँगै स्कुटरको अन्य केही डिजाइन परिवर्तन हुने अनुमान छ । कम्पनीले नयाँ चेतकको टेल लाइट र डिजाइन बाहेक अन्य विवरणहरू भने सार्वजनिक गरेको छैन ।

कम्पनीले देखाएको नयाँ टेल लाइट पुरानो स्प्लीट टेल लाइटभन्दा धेरै फरक देखिन्छ । यसको टेल सेक्सनमा चेतकको ब्राण्ड लोगो समेत थपिएको छ ।

सन् २०२५ मा बजाज चेतकले भारतीय बजारमा २ लाख ७० हजार युनिट हाराहारीमा स्कुटर बिक्री गरेको थियो । हाल इलेक्ट्रीक स्कुटरतर्फ बजाज चेतकको भारतमा २१ प्रतिशत बजार हिस्सा रहेको छ ।

हाल बजारमा उपलब्ध चेतकको दुई ब्याट्री प्याक अप्सन भेरियन्ट उपलब्ध छ । जसमा ३ किलोवाट आवर र ३.५ किलोवाट आवरको पाइन्छ । बजाजले चेतक ३००१, ३५०१, ३५०२ र ३५०३ गरी चार भेरियन्टमा बिक्री गरिरहेको छ । चेतक ३००१ र ३५०३ भेरियन्टमा नेगेटिभ एलसीडी ड्यासका साथै मोबाइल कनेक्टिभिटी सिस्टम जस्ता समान फिचरहरू पाइन्छ ।

त्यस्तै, यसको टप भेरियन्टमा भने कनेक्टिभिटीको साथ टच स्क्रीन टीएफटी डिस्प्ले सहित अन्य प्रिमियम सुविधाहरू रहेका छन् ।

नेपालमा पनि बजाजको इलेक्ट्रीक स्कुटर चेतक उपलब्ध छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतकको ३५०१ भेरियन्ट स्कुटरको बिक्री वितरण गरिरहेको छ ।


Back_to_top