१२ नयाँ मोडलको तयारीमा महिन्द्रा, एसयूभीमा लिडर बन्ने लक्ष्य

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रालाई भारतीय एसयूभी एक्सपर्टको रुपमा पनि चिनिने गरिएको छ । कम्पनीले आफ्नो कार उत्पादनको ७० वर्ष पुरा गरिसकेको छ । सन् २००२ मा स्कर्पियो बजारमा ल्याएसँगै कम्पनीको यात्रामा ठूलो परिवर्तन आएको थियो ।

नेपालमा पनि महिन्द्राको सफलता स्कर्पियोले नै दिएको हो । स्कर्पियोको सफलतापछि कम्पनीले फर्केर पछाडि हेर्नु परेको छैन । अहिले नेपाली बजारमा महिन्द्रा स्कर्पियो र बोलेरो सर्वाधिक सफल मोडल हुन् ।

महिन्द्राले स्कर्पियो बजारमा ल्याएको १८ वर्षपछि पुनः कम्पनीलाई नयाँ स्थानमा उभ्याउने प्रयास गरेको छ । यसको पहिलो खुड्कीलो थारको नयाँ जेनेरेशन मोडललाई लिन सकिन्छ । अहिले थारको सफलता यस्तो देखिएको छ कि नेपाल, भुटान लगायत देशले पाउन समेत सकेका छैनन् ।

अब कम्पनीले ह्याचव्याक, सेडान र साना गाडी उत्पादन नै नगर्ने घोषणा गरेको छ । कम्पनी ठूला र लग्जरी एसयूभी र लाइफ स्टाइल तथा फरक डिजाइनका गाडी निर्माणमा केन्द्रित हुने भएसँगै यसको व्यवस्थापकीय जिम्मेवारीमा पनि प्रवन्ध निर्देशक र सीइओको रुपमा डा. अनिश शाह आएका छन् । कम्पनीले भारतका चर्चित डिजाइनर प्रताप बोसलाई पनि डिजाइन हेडको बनाएको समाचारहरु बाहिर आएको छ । बोस यसअघि टाटा मोटरमा थिए । टाटाको डिजाइन परिवर्तनमा बोसको मुख्य भूमिका रहेको थियो ।

महिन्द्रा एण्ड महिन्द्राले आफ्नो ध्यान इलेक्ट्रीक उत्पादनमा पनि रहने जनाएको छ । त्यसको लागि अहिले कुल खर्चको २५ प्रतिशत रकम इलेक्ट्रीक सवारी साधन निर्माणमा खर्च गर्ने योजना बनाएको छ ।

यो सबै लक्ष्य पुरा गर्न कम्पनीले १२० अर्व भारतीय रुपयाँ आगामी तीन वर्षमा खर्च गर्ने जनाएको छ । उक्त रकम मध्ये ३० अर्व रुपैयाँ इलेक्ट्रीक सवारी साधन उत्पादनमा लगाउने छ ।

कम्पनीले बजारमा ल्याउने एसयूभीहरु १.२ लिटरदेखि २.२ लिटरसम्मका इन्जिनमा रहने छन् । कम्पनीले एमस्टलन पेट्रोल र एमहक डिजेल इन्जिनको प्रयोग गर्ने छ भने इलेक्ट्रीमा ४०० किलोमिटर रेञ्जसम्म प्रदान गर्ने एसयूभी निर्माण गर्नेछ ।

कम्पनीले ल्याउने एसयूभीहरुको नाम एक्सयूभी सिरिजमा रहने छ । जसमा एक्सयूभी ३००, एक्सयूभी ५००, एक्सयूभी ७०० र एक्सयूभी ९०० रहने छन् भने चर्चित थार र बोलेरो निरन्तर रहने छन् ।

कम्पनीले एक्सयूभी ३०० र एक्सयूभी ५०० इलेक्ट्रीक भर्सनको तयारी पनि गरिसकेको छ । महिन्द्रा भारतमै पहिलो कुपे डिजाइनमा एसयूभी बनाउने पहिलो कम्पनी बन्ने दौडमा पनि रहेको छ । कम्पनीले एक्सयूभी ९०० लाई कुपे डिजाइनमा ल्याउने छ ।

आगामी ५ वर्षमा १२ नयाँ मोडल बजारमा ल्याउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको छ । यी नयाँ मोडल सुरक्षा, स्टाइल र पर्फमेन्समा उत्कृष्ट हुने अनुमान गरिएको छ ।


Back_to_top