यी हुन् नेपाली बजारमा उपलब्ध स्टाइलिस स्कुटर, कुनको मूल्य कति ?

काठमाडौं । सन् २०१८ मा थुप्रै स्कुटर सार्वजनिक भएका छन्  । नेपाली बजारमा होन्डा, टिभीएस, हिरो, यामाहा, सुजुकी, भेष्पा जस्ता कम्पनीले स्कुटरहरु सार्वजनिक गरे । करिब ३० प्रतिशत टु-ह्वीलरको बजार स्कुटरले ओगटेको छ । त्यस्तोमा कम्पनीहरुले ल्याउने नयाँ मोडलका स्कुटर स्वभाबिकरुपमा चर्चामा रहन्छन् । 

हामीले २०१८ मा नेपाली बजारमा प्रबेश गरेका केही उत्कृष्ट स्कुटरको मूल्य र बिशेषता यहाँ प्रस्तुत गरेका छौं । 

टिभीएस एनटर्क 

गत असोजमा सम्पन्न नाडा अटोशोमा टिभीएस कम्पनीले सार्वजनिक गरेको टिभीएस एनटर्क स्कुटरले छोटो समयमा राम्रो बजार लिन सफल भएको छ । एनटर्क १२५ निकै स्टाइलिस र दमदार पावरका लागि परिचित भएको छ । 

यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरुको रोजाईमा एनटर्क पर्न सुरु भएको छ । यो स्कुटरमा ब्लूटुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिएको छ । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । तीन ट्रीप मिटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचरहरु नर्मल मोडमा पाइन्छ ।

साथै, यसमा उपलब्ध १२५ सीसी गियर कोल्ड इन्जिन उपलब्ध स्कूटरले ११.५ बीएचपी पावर दिन्छ । यसको टप स्पीड क्षमता १०३ किलोमिटर प्रतिघन्टा हुनेछ । नेपाली बजारम यस्को मुल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । 

होन्डा ग्राजिया 

होन्डा कम्पनीले पनि आफ्नो चर्चित स्कुटर ग्राजिया यहि वर्ष बजारमा ल्याएको थियो । होन्डाले स्टाइलिस र पर्फमेन्स मनपराउने ग्राहकका लागि यो सेगमेन्टकै आक्रर्षक फिचर र स्टाइल भएको स्कुटर बजारमा ल्याएको जनाएको छ । 

अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कुटरमा थ्री स्टेप ईको स्पीड इन्डिकेटर छ, जसका कारण आवश्यकता अनुसारको स्पीड लिन सकिन्छ र माइलेज बढाउँछ । सिट ओपन गर्नका लागि ‘फोर इन वान लक’ छ । त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ ।

होन्डाले एक्टिभामा प्रयोग गरेको १२५ सीसी एयरकुल्ड फोर स्ट्रोक इन्जिन नै यसमा पनि प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ । यसको ह्वील बेस १,२६० एमएम छ । 

नेपाली बजारमा होन्डा ग्राजिया एसटिडिको मूल्य २ लाख ८ हजार ९ सय रहेको छ भने, ग्राजिया डिएलएक्स २ लाख २९ हजार ९ सय रुपैयाँ रहको छ । 

यामाहा जेडआर स्ट्रिट र्याली 

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता ‘एमएडब्लु’ इन्टरप्राइजेजले जेडआर ‘स्ट्रिट र्याली’ स्कुटर बिक्री वितरण गर्दै आएको छ । नाडा अटो शो २०१८ मा सार्वजनिक गरिएको यो स्कुटर सिटी राइडको लागि मात्र नभएर लामो दूरीको लागि पनि उपयुक्त रहेको छ । 

यसको लुक्स र पर्फमेन्सले युवा पुस्ताको ध्यान तान्न सफल भएको छ । रातो र निलो रङमा उपलब्ध नयाँ ‘स्ट्रिट र्याली’ को मूल्य कम्पनीले २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै, यसमा स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’ समावेश छन् ।

११३ सीसीको ‘ब्लु कोर’ इन्जिन रहेको ‘स्ट्र्रि याली’ले  ७ हजार ५ सय आरपीएममा ७.१ पिएस पावर दिन्छ भने ५ हजार आरपीएममा ८.१ एनएम टर्क जेनेरेट गर्छ । अगाडि रहेको १७० एमएम डायमिटरको डिस्क ब्रेकले स्कुटरलाई नियन्त्रण गर्न सहज बनाउँछ । 

यसमा २१ लिटर क्षमताको सिट स्टोरेज छ भने आधा लिटरको बोटल अट्ने पकेट रहेको छ । त्यसैगरी, ‘स्ट्रिट र्याली’मा ५.२ लिटर इन्धन स्टोरेज क्षमता रहेको छ । 

सुजुकी वर्गम्यान स्ट्रिट 

केही दिनअघि मात्रै नेपालको लागि सुजुकी टुह्वीलरको आधिकारीक बिक्रेता भिजी सुजुकीले बर्गम्यान स्ट्रीटलाई नेपाली बजारमा ल्याएको हो । सुजुकी बर्गम्यान–६२५ को डिजाईनबाट प्रभावित रहेको बर्गम्यान स्ट्रीटमा १२५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । यसले ८.७ पीएस पावर र १० एनएम टर्क उत्पादन गर्छ । 

कम्पनीका अनुसार उच्च प्रविधियुक्त सुजुकी बर्गम्यान स्ट्रीटमा एलइडी हेडलाईट र टेललाईट दिइएको छ । यस स्कुटरमा मल्टी फङ्गसन की स्लट जडान गरिनुका साथै अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२ वाट चार्जर सकेट तथा प्रयाप्त अन्डरसिट स्टोरेज स्पेशजस्ता विशेषताहरु दिइएका छन् । सुजुकीको बर्गम्यान स्ट्रीट १२५ को अगाडीको भागमा डिस्क ब्रेक र रियरमा ड्रम सेटअप जडान गरिएको छ । यसका साथसाथै स्कुटरमा सीवीएस पनि दिइएको छ । 

नेपाली बजारमा यसको मूल्य करिब २ लाख ३० हजारको हाराहारीमा पर्ने अनुमान गरिएको छ । 

हिरो डुएट १२५ 

हिरो मोटोकर्पको नयाँ स्कुटर ‘डुएट’ले नेपाली बजारमा २०१८ मा प्रबेश गरेको हो । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्के्टिङ प्रालिले गत चैतमा डुएट स्कुटर भित्र्याएको हो । 

डुएटमा १११ सिसीको एयर कूल्ड फोर स्ट्रोक सिंगल सिलिन्डर ओएचसी इन्जिन छ । यसले ८ हजार आरपीएममा ८.३१ बीएचपी पावर र ६५ सय आरपीएममा ८.३ एनएमसम्म टर्क उत्पादन गर्छ । 

डुएटको सिटमुनी बुटमा मोबाइल चार्जिङ पोर्ट र लाइट पनि छ । अन्य फिचरमा सर्भि्सिङ गराउन बाँकी भएको सम्झाउने इन्डिकेटर, साइड स्ट्यान्ड लागिरहेको भए सम्झाउने इन्डिकेटर, ट्वीन पार्किङ ल्याम्प, पञ्जा राख्ने बक्समा बुट लाइट, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम (आइबिएस) जस्ता विशेषता छन् । आइबीएस यस्तो ब्रेकिङ प्रणाली हो जसमा ब्रेक लगाउँदा दुबै चक्कामा एकै पटक आवस्यकता अनुसारको ब्रेक लाग्छ । नेपाली बजारमा यसको मूल्य  १ लाख ८८ हजार रहेको छ । 

भेष्पा नोटे अल ब्लाक

भेष्पा कम्पनीले  नयाँ मोडल बजारमा ल्याएको छ । भेस्पा नोटेमा १२५ सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यसले ७५०० आरपीएममा ९.७६ बिएचपी पावर उत्पादन गर्छ भने ६ हजार आरपीएममा १०.६ एनएमटर्क उत्पादन गर्छ । 

भेस्पा एक्स–१२५ मा पनि यहि इन्जिनको प्रयोग गरिएको छ, जसको मुल्य भेस्पा नोटेको भन्दा ४ हजार बढी रहेको छ । नोटे ब्लाक कलर अप्शनमा निर्माण गरिएको छ । नोटेमा एलएक्स २२५ मा समावेश भएजस्तै विशेषता दिईएको छ । यसमा ७ सय ७० मिलीमिटरको सिट हाइट रहेको छ भने, १५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । ७ लिटर क्षमताको फ्युल ट्यांकी राखिएको यो स्कुटरको नेपाली बजारमा मूल्य २ लाख ६० हजार रुपैयाँ रहेको छ । 


Back_to_top