काठमाडौं । हिरोले करिज्मा एक्सएमआर २१० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा हिरो करिज्मा एक्सएमआर २१० मोटरसाइकल अपडेट गरेर तीन नयाँ भेरियन्टमा सार्वजनिक गरेको हो ।
कम्पनीले बजारमा ल्याएको एक्सएमआर २१० को बेस भेरियन्टको मूल्य २ लाख ८१ हजार भारती रुपैयाँ, टप भेरियन्टको २ लाख र कम्ब्याट भेरियन्टको २ लाख २ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ ।
करिज्मा एक्सएमआर २१० नयाँ भेरियन्टमा स्मार्ट ब्लुटूथ कनेक्टिभिटी सहितको ४.२ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । यसमा टर्न बाइ टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, ब्याट्रीको स्थिति, फ्युल अवस्था, म्युजिक कन्ट्रोल सिस्टम, गियर पोजिसन, स्पीड मिटर, ओडो मिटर, समय लगायत अन्य आवश्यक डिटेल्सहरू हेर्न सकिन्छ ।
त्यस्तै, यस मोटरसाइकलमा स्लिपर एसिस्ट क्लच, ६ स्पीडको गियर पोजिसन, पूरा एलईडी लाइट, डबल डिस्कब्रेकसँगै डबल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर, वाइडर रियर टायर र यूएसडी फोर्क जस्ता फिचरहरू छन् ।
हिरो करिज्मा एक्सएमआरमा २१० सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्भ, डीओएचसी इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम २५ बीएच पावर तथा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड १४० किलोमिटर रहेको छ ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नाडा अटो शो २०२४ मा पहिलो पटक नेपालमा करिज्मा एक्सएमआर २१० प्रदर्शन गरेको थियो ।
नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको यो मोटरसाइकलको केही समयपछि नेपाली बजारमा पनि बिक्री सुरू हुने कम्पनीले जनाएको छ ।


