काठमाडौं । टाटा मोटर्सले आफ्नो इलेक्ट्रीक एसयूभी नेक्सनको उत्पादन ५० हजार यूनिट पुरा गरेको छ । कम्पनीले ५० हजार यूनिट पुरा गरेको उपलक्ष्यमा कम्पनीका चेयरम्यान एन चन्द्रशेखरनलाई ग्राहक बनाएको हो ।
५० हजार यूनिट उत्पादन पुरा गरेको खुशियालीमा कम्पनीका चेयरम्यानलाई नेक्सन ईभी हस्तान्त्रण गरिएको थियो । उक्त हस्तान्त्रणको तस्विर आफ्नो शोसल मिडिया पेजमा सेयर गर्दै लेखिएको छ, ‘भारतीय यातायातको क्षेत्र परिवर्तनमा गज्जपको लक्ष्य पुरा गरेको अवशरमा विशेष मानिसलाई ५० हजार औं यूनिट हस्तान्त्रण गरियो ।’
टाटाले नेक्सन ईभीको दुई मोडल भारतमा विक्री गर्दै आएको छ । जसमा सुरुमा आएको नेक्सन ईभी र पछि आएको नेक्सन म्याक्स छन् । रेगुलर मोडलमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ भने म्याक्स मोडलमा ४० किलोवाट आवरको ब्याट्री दिइएको छ ।
रेन्ज र केही फिरमा फरक रहेको यी दुई मोडल मध्ये अहिले नेपालमा रेगुलर मोडल मात्रै उपलब्ध रहेको छ । नेक्सन ईभी पछिल्ला महिनामा नेपालमा पनि निकै राम्रो संख्यामा विक्री वितरण हुँदै आएको मोडलमा पर्छ ।
टाटाको जीपट्रोन प्रविधिमा आधारित नेक्सन ईभी उच्च ग्राउन्ड क्लियरेन्स, स्पोर्टी डिजाइन र सुरक्षाको हिसावले उत्कृष्ट रहेको कारण धेरै मानिसको रोजाईमा पर्दै आएको छ । साथै, टप भेरियन्टको पेट्रोल इन्जिनको तुलनामा इलेक्ट्रीक टप भेरियन्ट निकै सस्तो रहेको कारण पनि नेपालमा नेक्सनको माग उच्च रहेको छ ।


