सुरक्षामा अब्बल सावित भयो ‘निसान आरिया’ इलेक्ट्रीक, चाँडै नेपाल आउन सक्ने

काठमाडौं । निसानको पहिलो इलेक्ट्रीक एसयूभी अरियाले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाउन सफल भएको छ । निसानले पहिलो पटक सिएमएफ-ईभी प्लेटफर्ममा बनाएको एसयूभीले ५ स्टार रेटिङ पाएको हो ।

रेनो-निसान-मित्सुवीसीले संयुक्तरुपमा तयार पारेको यही प्लेटफर्ममा रेनोले मेगान-ई तयार गरेको थियो । कम्पनीले यसको ६३ किलोवाट आवरको ब्याट्री भएको भर्सनको परिक्षण गरेको थियो । परिक्षणमा एडल्ट प्यासेन्जरको सुरक्षामा ८६ प्रतिशत र चाइल्ड सेफ्टीमा ८९ प्रतिशत अंक पाएको थियो ।

सडकमा हिड्ने यात्रुको सुरक्षामा ७४ प्रतिशत पाएको आरियामा प्रयोग भएको सेफ्टी एसिस्टमा ९३ प्रतिशत अंक पाएको थियो । यसलाई उच्च स्तरियर सुरक्षा फिचर भएको गाडी मानिएको छ ।

निसानले आरिया एसयूभी दुई फरक ब्याट्री अप्सनमा बजारमा ल्याएको छ । आरियाको स्ट्याडर्ड भेरियन्टमा ६६ किलोवाट आवर र लङ रेन्ज भेरियन्टमा ९१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । निसानले आरियामा १७८ किलोवाटको मोटर दिएको छ ।

आरियाको स्ट्याडर्ड ब्याट्री प्याकको रेन्ज ३५० किलोमिटर र ठूलो साइज ब्याट्रीको रेन्ज ४८० किलोमिटर रहने छ । स्पोर्टस्, स्ट्याडर्ड र इको तीन ड्राइभिङ मोडमा चलाउन मिल्ने यो कार टुह्वील र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ ।

निसानले निकै आकर्षक र लग्जरी देखिने डिजाइनमा तयार गरेको आरियामा प्रोपाइलट २.० सेमी अटोनोमस ड्राइभिङ सिस्टम उपलब्ध रहने छ । निसानले यसको इन्टेरियर फ्यूचरिस्टीक डिजाइन केन्द्रित साधारण बनोटमा तयार गरेको जनाएको छ ।

निसानले ड्यासबोर्डमा सकेसम्म कुनै पनि बटनहरु राखेको छैन । जसले गर्दा यसको ड्यासबोर्ड सफा र स्लीक देखिएको छ । यात्रुको सहजताको लागि निसानले जीरो ग्राभिटी सीटको डिजाइन गरेको जनाएको छ । १२.३ इन्चको दुईवटा डिस्प्ले रहेको आरियामा एउटामा ड्राइभर इन्फर्मेसन सिस्टम तथा अर्कोमा इन्फोटेन्मेन्ट स्कृन रहेको छ ।

निसानको दोस्रो ईभीको रुपमा बजारमा आएको आरिया एसयूभी चाँडै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यसअघि कम्पनीको पहिलो सेडान लिफ इलेक्ट्रीक पनि नेपालमा विक्री हुँदै आएको छ ।


Back_to_top