नयाँ एसयूभी फाईटः टाटा ह्यारियर र निशान किक्स, कुनमा के विशेषता ?

काठमाडौं । सार्वजनिक हुने मिति नजिकिएसँगै निशानको नयाँ मोडल किक्स र टाटाको अपेक्षित प्रिमियम एसयूभी ह्यारियरको चर्चा निकै बढेको छ । 

भारतीय मिडियाले यी दुई एसयूभी बीच निकै तुलना गर्न थालेका छन् । विशेषतः मूल्य, एक्सटेरियर, इन्टेरियर फिचर, डाइमेन्सनलगायतका पक्षमा यी दुई मध्य सबै पक्षमा टाटाको ह्यारीयर उत्कृष्ट रहेको छ । अहिलेसम्म कम्पनीले सार्वजनिक गरेको डिटेलबाट उक्त आँकलन गर्न सकिन्छ । 

यी दुबै एसयूभीको प्रतिस्पर्धीनै फरक रहेको छ । ह्यारियरले जिप–कम्पास र हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ भने निशान किक्सले मारुती एस–क्रशसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 

अनुमानित मूल्य भारतमा

टाटा ह्यारियरको टप मोडलको मूल्य १६ लाख र वेस भेरियन्टको मूल्य १२ लाख भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । त्यस्तै, निशान किक्सको वेस–भेरियन्टको मूल्य ९ लाख ५० हजार र टप–भेरियन्टको मूल्य १३ लाख ५० हजार रहने अनुमान गरिएको छ । 

इन्जिन

निशान किक्सको पेट्रोल भर्सनमा १.५ लिटरको इन्जिन रहनेछ । जसले १०४ बीएचपी पावर प्रदान गर्नेछ भने फाइभ–स्पीडको सीभीटीसहितको म्यानूअल गियर बक्समा बजारमा आउनेछ । डिजेल भर्सनमा पनि १.५ लिटरको इन्जिन रहनेछ, जसले १०८ बीएचपी पावर उत्पादन गर्नेछ । यसमा सिक्स–स्पीडको म्यानूअल ट्रान्समिसन रहनेछ । 

त्यस्तै, टाटाको यस प्रिमियम एसयूभी ह्यारियरमा एफसीएको २.० लिटर मल्टिजेट आईआई डिजेल इन्जिन लगाइएको छ । यसले अधिकतम् १४० बीएचपी पावरकासाथै ३५० एनएम–टर्क उत्पादन गर्छ । टाटा ह्यारियरकोे इन्जिनमा सिक्स–स्पीड म्यानूअल र अटोमेटिक दुबै ट्रान्समिसन अप्शन दिइएको छ । कम्पनीले अहिले ह्यारियरलाई फाइभ–सिट अप्शनमा बजारमा ल्याएको छ ।

विशेषता

ह्यारियरमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ । ह्यारियरमा सुपर–ड्राइभ मोडसमेत उपलब्ध रहेको छ । जसमा कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ्ग अप्शन उपलब्ध रहेको छ । त्यस्तै, मल्टी–फक्शन स्टेयरिङ्ग ह्वील, लेदर अपहोस्ट्री, एप्पल–कार–प्ले, एन्ड्रोइड सिस्टम लगाइएको छ । 

निशान किक्स फाइभ–सिट क्षमताको एसयूभी हो । ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमकासाथै अन्य धेरै प्रिमियम फिचर उपलब्ध छ । यो गाडी पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध हुनेछ । निशान किक्सको ह्वीलबेश लामो रहेको छ भने कम्पनीले क्याबिन र बुटका क्यापासिटी अन्तर्राष्ट्रिय मोडलसरह हुने दाबी गरेको छ । 

यसकासाथै कारमा एलईडीयुक्त हेडल्याम्प्स र बुमरेङ्ग शेपको टेल–लाइट दिइएको छ । यसमा चाइल्ड ग्लोबबक्स, अटोमेटिक एयरकोन, रियर एसी–भेन्ट, मल्टी–फक्शन स्टेयरिङ्ग ह्वील र डिजिटल स्पीडोमिटरलगायतका विशेषता उपलब्ध छन् । 

डायमेन्सन

टाटा ह्यारियरको लम्बाइ ४ हजार ५ सय ९८ एमएम रहेको छ भने निशान किकको लम्बाई ४ हजार ३ सय ८४ एमएम रहेको छ । ह्यारियरको चौडाई १ हजार ८ सय ९४ एमएम, किकको चौडाई १ हजार ८ सय १३ एमएम रहेको छ । त्यस्तै, यसको ह्यारियरको उचाई १ हजार ७ सय १४ छ भने किक्सको उचाई १ हजार ५ सय ५६ एमएम रहेको छ । 

टाटा ह्यारियरको ह्वीलबेश २ हजार ७ सय ४१ एमएम रहेको छ भने निशान किक्सको २ हजार ६ सय ७३ एमएम रहेको छ । यसकासाथै, यी दुई मोडलको ग्राउन्ड क्लियरेन्समा समेतमा समानता देखिएको छ । टाटा ह्यारिएरको ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ भने निशान किक्समा २ सय एमएम रहेको छ । 


Back_to_top