२० लाख कम मूल्यमा निसान लिफ किन्ने अन्तिम मौका

काठमाडौं । निसानको इलेक्ट्रीक कार लिफ करिब २० लाख कम मूल्यमा किन्ने पाइन्छ । सरकारले बजेट मार्फत कर बढाउनु अघि नै नेपाल आएका करिब १२ यूनिट लिफ बाँकी रहेको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले जनाएको छ ।

सरकारले भन्सारमा १५ प्रतिशत र अन्तःशुल्कमा ३० प्रतिशत गरी पहिलेको भन्दा करिब ४५ प्रतिशत कर वृद्धि गरेसँगै निसान लिफको मूल्य ८५ लाख हाराहारी पुग्ने भएको छ ।

‘हामीसँग भएको पुरानो स्टक सकिएपछि मूल्य बढ्ने छ । अहिलेसम्म ६४ लाख ९९ हजारमा लिफ विक्री गर्दै आएका छौं । अहिले किन्ने ग्राहकले करिब २० लाख रुपैयाँ बचत गर्ने अवसर पाउने छन्’, पायोनियर मोटोकर्पको डेपुटी जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

सरकारले १०० किलोवाट भन्दा माथि पीकपावर भएको इभीमा भन्सार र अन्तःशुल्क दुबै लगाएको छ । १०० देखि २०० किलोवाट पीकपावर भएको गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ । त्यसैले अहिले ६४ लाख ९९ हजारमा विक्री हुँदै आएको निसान लिफमा एकै पटक धेरै मूल्य बढ्ने भएको हो ।

 

निसान लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेन्ज निर्धारण हुने हुँदा करिब ३०० किलोमिटर रेन्ज आउने अनुमान गर्न सकिन्छ ।

कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।


Back_to_top