काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै पौने १४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार ५६औं वार्षिकोत्सवमा अवसरमा संस्थाले गत वर्ष १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गरेका हुन् ।
गत आवमा निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेकाे उनले जानकारी दिए । निगमले गत आवमा १ खर्ब २४ अर्ब रुपैयाँ बराबर राजस्व योगदान दिएको छ ।
निगमले गत आवमा ७ लाख ४६ हजार ४२० किलोलिटर पेट्रोल, १४ लाख ६६ हजार २८५ किलोलिटर डिजेल, २ लाख १० हजार १२ किलोलिटर हवाई इन्धन, १३ हजार ८५५ किलोलिटर मट्टीतेल र ५५ करोड ४६ लाख किलो खाना पकाउने एलपी ग्यास आयात गरेको थियो ।
निगमले हाल खाना पकाउने ग्यास बाहेक अरू सबै इन्धनमा मा नाफा कमाउँदै आएको छ ।
कार्यकारी निर्देशक भट्टले वि.सं. २०७१ सालदेखि सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’का कारण निगम नाफामा जान सफल भएको बताए । उनले यो प्रणाली निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको उनको भनाइ छ ।
गिमले पछिल्लो समय आधुनिक पूर्वाधारको निर्माणमा समेत उल्लेख्य प्रगति हासिल गरेको छ । हाल मोतिहारी-अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन संचालनमा छ । यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको उनले बताए । त्यस्तै, अमलेखगञ्जमै १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह संचालनमा आइसकेको उनले बताए ।
यस्तै, निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा गर्न सफल भएको उनले बताए । साथै, निगमको सेवालाई डिजिटल बनाइ व्यवसायीले ‘ईआरपी प्रणाली’मार्फत मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
उनले निगम अब परम्परागत इन्धन व्यापारबाट माथि उठेर क्लिन इनर्जी र विविधीकरणतर्फ लाग्ने योजना बनाएको बताए ।

