काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पछिल्लो ५ वर्षमा ८ हजार ५९२ युनिट विद्युतीय कार बिक्री गरेको छ ।
सन् २०२१ देखि विद्युतीय कार बिक्री थालेको सिप्रदीले २०२५ डिसेम्बर अन्तिमसम्ममा उक्त संख्यामा बिक्री गर्न सफल भएको हो ।
यो सिप्रदीले ट्याक्सी र प्यासेन्जर कार दुवै सेग्मेन्टमा बिक्री ईभीको संख्या हो , जसमा ट्याक्सीको रूपमा बिक्री हुने टिगोर ईभीको तथ्यांक पनि समावेश गरिएको छ ।
अहिले टाटाले उत्पादन गरेको नेक्सन, पन्च, कर्भ, टियागो र टिगोर ईभीको रूपमा नेपालमा बिक्री वितरण हुँदै आएको छ । यी मध्ये कर्भ ईभी छाडेर अन्य सबै मोडल ठूलो संख्यामा बिक्री भएको देखिन्छ ।
सिप्रदीले सन् २०२१ को मध्यबाट नेपाली बजारमा नेक्सन ईभी उतारेर ईभी बिक्रीमा हातहालेको थियो । कम्पनीले ईभी बिक्री थाल्नु अगाडि नै देशका विभिन्न भेगमा १९ वटा डीसी फास्ट चार्जर जडान गरेर बजारमा एक किसिमको हलचल नै पैदा गरेको थियो ।

नेक्सन ईभी सन् २०२१ मा १८८ युनिट आयात भएको थियो । त्यसपछि सन् २०२२ मा १ हजार ३०१ युनिट, २०२३ मा १ हजार २८५ युनिट आयो । सन् २०२४ भने नेक्सनको लागि उत्कृष्ट वर्ष बन्न सकेन । त्यो वर्ष केबल २७ युनिट नेक्सन आयात भयो ।
सन् २०२५ मा नेक्सन केथ्री आएसँगै बिक्री पनि बढेको देखिन्छ । गतवर्ष कम्पनीले १५२ युनिट नेक्सन केथ्री ल्यायो । समग्रमा विगत ५ वर्षमा नेक्सन ईभी २ हजार ९५३ युनिट आयात भएको देखिन्छ ।
टाटा नेक्सनपछि सर्वाधिक सफल मोडल टियागो ह्याचब्याक हो । टियागो ईभीमा आएसँगै यसले खस्कँदै गएको फ्यामली ह्याचब्याक सेग्मेन्टलाई नै माथि उठायो । टाटा टियागो ईभी सन् २०२३ बाट नेपालमा बिक्री सुरू भएको थियो ।

कम्पनीले सन् २०२३ मा ८२४ युनिट टियागो ईभी ल्याएर बिक्री गर्यो । त्यसपछि २०२४ मा १ हजार ९८ युनिट आयात भएको टियागो ईभी २०२५ मा ३९५ युनिट आयात भयो । विगत ३ वर्षमा टियागो ईभी २ हजार ३१७ युनिट बिक्री भएको देखिन्छ ।
सुरूमा निजी कारको रूपमा बजारमा प्रवेश गरेको टिगोर कम्प्याक्ट सेडान ईभी हो । सन् २०२२ बाट टिगोर ईभी नेपाल आएको हो । सुरूको वर्ष सन् २०२२ मा १४९ युनिट आयात भएको टिगोर ईभी त्यसपछि सन् २०२३ बाट ट्याक्सीको रूपमा पनि बिक्री सुरू भयो ।

टिगोर ईभी सन् २०२३ मा ४४८ युनिट, २०२४ मा ७३८ र २०२५ मा ८७६ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । विगत ४ वर्षमा सिप्रदी ट्रेडिङले २ हजार २११ युनिट टिगोर ईभी नेपाल ल्याएर बिक्री वितरण गरेको देखिन्छ ।
सन् २०२४ को सेप्टेम्बर महिनाबाट नेपाल प्रवेश गरेको पन्च ईभीले पनि डेढ वर्षको अवधिमा १ हजार २१ युनिट आयात पूरा गरेको छ । कम्पनीले २०२४ मा ४९२ युनिट र २०२५ मा ५२९ युनिट पन्च ईभी नेपाल ल्याएको छ ।

टाटाको सबैभन्दा लेटेस्ट मोडल र सबैभन्दा महँगो ईभीको रूपमा आएको कर्भ ईभी भने अन्य मोडलको जस्तो आयात देखिँदैन । भारतीय निर्माताको पहिलो कुप्पे मोडलको रूपमा आएको कर्भ सन् २०२५ मा लन्च भएको थियो । अहिलेसम्म कर्भ ईभी ९० युनिट आयात गरेको देखिन्छ ।

