यातायात कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली सुरू

काठमाडौं । यातायात व्यवस्था कार्यालय, इटहरीमा अनलाइन भुक्तानी र टोकन प्रणाली (लाइसेन्स) सुरू गरिएको छ ।

सोमबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रणालीको उद्घाटन गरेका हुन् ।

सेवाग्राहीको सुविधा र कार्यालयमा हुने अत्याधिक चाप व्यवस्थापन गर्न अनलाइन प्रणाली सुरू गरिएको हो ।

कार्यालयका अनुसार अब सेवाग्राहीले सवारी सम्बन्धी  सम्पूर्ण कर अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन् । बैंक र कार्यालय धाउनुपर्ने झन्झट हटेको छ । साथै, सेवाग्रहीले कार्यालयमा सम्पर्क गरी भीआरएस प्रणालीमा सवारीको विवरण जोडेपछि घरबाटै कर तिर्न सक्नेछन् ।

त्यस्तै, कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवामा टोकन प्रणाली लागू गरेको हो । यससँगै अब सेवाग्राहीले लामो लाइन बस्नुपर्ने छैन । टोकन नम्बर अनुसार आफ्नो पालोमा सहजै सेवा लिन सक्नेछन् ।

इटहरीमा कोशी प्रदेशमै पहिलो पटक अनलाइन भुक्तानी र टोकन प्रणाली लागू गरिएको हो । यसलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी रहेको मन्त्री पराजुलीले बताए ।

परम्परागत ढंगले लाइनमा बसेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्दै अब नागरिकलाई सहज र पारदर्शी सेवा दिने दिशामा प्रदेश सरकार अघि बढेको उनको भनाइ छ ।


Back_to_top