काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा बजारमा आफ्नो दबादबा कायमै राख्न आक्रमक रूपमा अघि बढेको छ । कम्पनीले एकैपटक १५ बढी नयाँ तथा अपडेटेड मोडल बजारमा ल्याउने तयारी गरेको हो ।
कम्पनीले हालै भारतको चण्ढीगढमा एकैपटक १५ बढी मोडलहरूको परीक्षण गरिरहेको फोटो तथा भिडियो बाहिरिएको छ । यसले कम्पनी बजारमा नयाँ मोडल ल्याउन आक्रमक रूपमा लागिरहेको पुष्टि गरेको हो ।
द कार शो च्यानलमार्फत सार्वजनिक भएका तस्बिर र भिडियोमा महिन्द्राका विभिन्न नयाँ र फेसलिफ्ट मोडलहरू एकैसाथ परीक्षण भइरहेको देखिन्छ ।
परीक्षणमा देखिएका सवारीहरूमा महिन्द स्कर्पियो फेसलिफ्ट, भिजन एस, ग्लोबल पिकअप (सिंगल र डबल क्याब), स्कर्पियो क्लासिक पिकअप (डबल क्याब), थार फेसलिफ्ट, बोलेरो, बोलेरो नियो, हालै सार्वजनिक गरिएको एक्सयूभी सेभेन एक्सओ र केही भीरो सीभी लगायत छन् ।
यी हुन् परीक्षणमा देखिएका मुख्य मोडल
भिजन एस : भिजन एस महिन्द्राको सर्वाधिक चासोको केन्द्रमा रहेको नयाँ मोडल हो। यो सब फोर मिटर सेग्मेन्टमा आउने छ । भिजन एस एसयूभी भविष्यमा स्कर्पियो नामबाट आउने सम्भावना रहे पनि हालसम्म आधिकारिक पुष्टि भने भइसकेको छैन ।
यसमा एलईडी लाइटिङ, प्यानोरामिक सनरुफ, ठूलो इन्फोटेनमेन्ट स्क्रीन, भेन्टिलेटेड सिट, एक्सयूभी सेभेन एक्सओबाट लिइएको नयाँ स्टेयरिङ ह्वील हुने अपेक्षा गरिएको छ। इन्जिनतर्फ १.५ लिटर डिजेल र रियर ह्वील ड्राइभ सेटअप रहने अनुमान गरिएको छ।
स्कर्पियो फेसलिफ्ट
महिन्द्राले आफ्नो चर्चित एसयूभी अब स्कर्पियोको फेसलिफ्ट मोडल ल्याउने तयारी गरेको छ । परीक्षण देखिएको फेसलिफ्ट स्कर्पियोमा अस्थायी हेडलाइट र टेललाइट प्रयोग गरिएको देखिन्छ ।
तर, यसको प्रोडक्सन मोडल नयाँ डिजाइन र उन्नत लाइटिङ प्रणाली आउने अपेक्षा गरिएको छ। यसको भित्री भागमा ठूलो टचस्क्रीन, भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ थपिने सम्भावना छ। यसले स्कर्पियोलाई अझ आधुनिक र मजबुत बनाउने छ ।
थार फेसलिफ्ट
महिन्द्रा कन्भोयमा देखिएको थार फेसलिफ्टले थप आधुनिक फिचरहरू थपिएर आउने संकेत गरेको छ । यो एलईडी हेडलाइट, डीआरएल, थार रोक्सको जस्तो १९ इन्चको एलोय ह्वीलहुने अपेक्षा गरिएको छ । यी परिवर्तनहरूले थारलाई भारतको अग्रणी अफ–रोड एसयूभीको रूपमा अझ बलियो बनाउने विश्वास छ ।
ग्लोबल पिकअप र स्कर्पियो क्लासिक पिकअप
महिन्द्राको ग्लोबल पिकअप पनि परीक्षणका क्रममा देखिएको छ। यो पिकअप ट्रक सिंगल र डबल क्याब दुवै भेरियन्टमा विकास भइरहेको छ । सम्भवतः भारतमा डबल क्याब भेरियन्ट मात्र सार्वजनिक हुनेछ । साथै, स्कर्पियो क्लासिक पिकअप पनि परीक्षणमा देखिएको छ । जुन अष्ट्रेलिया जस्ता बजारमा पहिले नै उपलब्ध छ। महिन्द्राले यसलाई भारतमा इन्ट्री लेभल पिकअप ट्रकका रूपमा ल्याउने तयारी गरेको अनुमान गरिएको छ।
अन्य मोडलहरू
परीक्षणमा देखिएका अन्य मोडलहरूमा एक्सयूभी सेभेन एक्सओ, बोलेरो, बोलेरो नियो र भीरो सीभी जस्ता मोडलहरू छन् । यी गाडीहरू पहिले नै बजारमा उपलब्ध छन् । तर, थप अपडेटका लागि परीक्षण भइरहेको अनुमान गरिएको छ ।

